प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीलाई राष्ट्रपतिले गराए तीन विषयमा ध्यानाकर्षण

- ईश्वर विश्वकर्मा  

तस्बिरः राष्ट्रपतिको सचिवालय

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।

शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टीको चियापान समारोहमा सहभागी भएपछि प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओली शीतलनिवास पुगेका थिए।

भेटवार्तामा तीन शीर्ष नेतालाई राष्ट्रपति पौडेलले तीनै विषयमा ध्यानाकर्षण गराए।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार संघीयता कार्यान्वयन, सुशासन र त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको विषयमा राष्ट्रपति पौडेलले चासो व्यक्त गर्दै नेताहरूको ध्यानाकर्षण गराएका थिए।

‘संघीयता कार्यान्वयन गर्नका लागि आवश्यक ऐनहरूमा सहमति गरी चाँडै प्रदेशलाई अधिकारसम्पन्न बनाउन उहाँले शीर्ष नेताको ध्यानाकर्षण गराउनुभयो,’ राष्ट्रपतिका प्रेस सल्लाहकार पोखरेलले दियोपोस्टसँग भने।

प्रदेशलाई अधिकार सम्पन्न बनाउन माग गर्दै केही समयअघि सातै प्रदेशका मुख्यमन्त्रीहरू काठमाडौं आएर प्रधानमन्त्री प्रचण्डलाई भेट गरेका थिए। सरकार भएपनि अधिकार नभएपछि कामै गर्न नसकिएको भन्दै उनीहरूले प्रदेशलाई अधिकारसम्पन्न बनाउनेगरी कानुनहरू ल्याउन माग गरेका थिए।

आजको भेटमा राष्ट्रपति पौडेलले पनि प्रदेशलाई अधिकारसम्पन्न बनाउन आवश्यक संघीय निजामति कर्मचारी ऐन, प्रहरी समायोजन ऐन, संघीय शिक्षा ऐन लगायतका ऐनहरू चाँडो ल्याउन प्रचण्ड, देउवा र ओलीको ध्यानाकर्षण गराएका हुन्।

प्रदेशलाई अधिकारसम्पन्न बनाउने विषयमा सत्तपक्ष र प्रतिपक्ष सबै एकै ठाउँमा आउनुपर्ने पनि उनको अनुरोध थियो।

त्यस्तै निमुख जनताहरूले महशुस र न्याय पाउनेगरी सुशासन कायम गर्न पनि दलहरूको ध्यानाकर्षण गराए।

तेस्रो,त्रिभुवन विश्वविद्यालयमा उपकुलपति रिक्त रहेको बेला क्षमतावान् प्राज्ञ ल्याएर विश्वविद्यालय सुधार अभियान सुरू गर्न राष्ट्रपतिले दलहरूको ध्यानाकर्षण गराए ।

राष्ट्रपति पौडेलको ध्यानाकर्षणप्रति तीन नेताहरूले सकारात्मक रूपमा लिएको पोखरेलले जानकारी दिए।