काठमाडौं। हुण्डी कारोबार गर्ने दुईजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका-५ घर भई हाल काठमाडौंको कपन बस्ने ३९ वर्षीय भीमसेन गौतम र चितवनको राप्ती नगरपालिका-४ घर भई काठमाडौंको सुकेधारा बस्ने राजु गौतम छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई काठमाडौंको महाबौद्धबाट पक्राउ गरेको कार्यालयका सूचना अधिकारी एसपी मिलन केसीले जानकारी दिए।
एकसपी केसीका अनुसार पक्राउ परेका भिमसेनको साथबाट ८ लाख रूपैयाँ, राजु गौतमको महाबौद्धस्थित कुमारी आर्केटको राधाकृष्ण जनरल स्टोरबाट विभिन्न बैंक तथा सहकारीको ७ लाख ९७ हजार बराबर उल्लिखित चेक र ५ लाख ७५ हजार नगद बरामद गरेको छ।
उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको उनले बताए।