काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले मलेसियामा जिबि राईलाई भेटेको अस्वीकार गरेका छन्।
रवि लामिछाने मलेसिया जाँदा त्यहाँ उनले जिबि राईलाई भेटेको कुरा दियोपोस्टले केही अघि तथ्यसहित समाचार लेखेको थियो।
सहकारी ठगी प्रकरणमा जिबि राईसहित उनी पनि मुछिएपछि त्यसबारेमा जानकारी दिन लामिछानेले सोमबार पत्रकार सम्मेलन नै आयोजना गरेका थिए।
चःमतिस्थित पार्टी कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा दियोपोस्टले प्रकाशन गरेको समाचारबारे लामिछानेलाई प्रश्न सोधिएको थियो।
तपाईंले मलेसियामा जिबि राईलाई भेट्नुभएको हो ? भन्ने प्रश्नको जवाफमा उनले आफूले त्यहाँ उनलाई नभेटेको जवाफ लामिछानेले दिएका हुन्।
‘उहाँ (जिबि राई)लाई खोज्नुपर्यो, समात्नुपर्यो, ल्याउनुपर्यो। त्यसपछि उहाँले भन्नुहोला नी। अरू साथीहरू पनि समातिनुभएको छ, उनीहरूले भन्लान् नी,’ लामिछानेले भने,’ मैले उहाँलाई भेटेको कुरा गलत हो।’
लामिछाने प्रवासमा पार्टीको संगठन बनाउने भनेर गत ३ डिसेम्बरमा मलेसिया गएका थिए। त्यहाँ उनलाई जिबि राईकै कम्पनी नेचर हब इन्टरनेशनलमा कार्यरत हेमराज सापकोटा लामिछानेलाई लिन एअरपोर्ट पुगेका थिए। उनी एनआरएनए मलेसियाका उपाध्यक्ष समेत हुन्।
सापोकोटालाई नै लामिछानेले मलेसिया प्रवास कमिटीको सचिव बनाएर फर्केका थिए।
दियोपोस्टको विश्वस्त स्रोतका अनुसार त्यहाँ सापकोटा लगायतले नै जिबी राईसँग लामिछानेको भेटको चाँजोपाँजो मिलाएका थिए।
लामिछानेले त्यहाँ जिबि राईसँग भेट्नुको विशेष कारण पनि दियोपोस्टले नै सार्वजनिक गरेको थियो।
त्यतिबेला लामिछाने ग्यालेक्सी फोरकेमा रहँदा जिबि राईसँगको हिसाबकिताब मिलाउन मलेसिया पुगेका थिए।
रवि लामिछानेले हस्ताक्षर गरेको ३ करोडको चेक जिबि राईसँग रहेको र उक्त चेक बाउन्स गरिएको अवस्थामा रहेको पनि खुलेको थियो।
त्यतिबेला चेक फिर्ता गर्न अनुनयविनय गरेपनि राईले चेक फिर्ता नगरेपछि उनी निराश फर्किएको विषय दियोपोस्टले सार्वजनिक गरेको थियो।
सम्बन्धित समाचारः