त्रिभुवन विमानस्थलमा प्रहरीबाट कुटिए अध्यागमनका हाकिम र अधिकृत

दियो पोस्ट  

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले अध्यागमनका कर्मचारीमाथि कुटपिट गरेका छन्।

अध्यागमन प्रमुख गोगन हमाल र डेस्क अफिसर छायालाल मोक्तानमाथि चेकजाँचमा खटिएका प्रहरीले कुटपिट गरेका हुन्।

 अध्यागमन विभागका सूचना अधिकारी प्रेमप्रसाद दाहालका अनुसार सुरूमा त्यहाँ खटिएका प्रहरीले मोक्तानमाथि हातपात गरेका थिए।

आफ्ना कर्मचारी प्रहरीबाट कुटिएपछि अध्यागमन प्रमुख हमाल त्यसबारे बुझ्न त्यहाँ पुगेका थिए। उनी पुगेर घटनाबारे बुझ्न खोज्दा उल्टै हमालमाथि प्रहरीले कुटपिट गरेको दाहालले जानकारी दिए।

‘सुरूमा छायालाल मोक्तानलाई चार/पाँच जना प्रहरी मिलेर कुटेछन्।  आफ्ना कर्मचारी कुटिएपछि  त्यसबारे बुझ्न चिफ साब त्यहाँ पुग्दा उहाँमाथि नै कुटपिट भएछ,’ अध्यागमन विभागका सूचना अधिकारी दाहालले दियोपोस्टसँग भने।

कुटपिटबाट हमाल घाइते भएका छन्। उनको अनुहारमा चोट लागेको दाहालले जानकारी दिए।

प्रहरी स्रोतका अनुसार मोक्तान डियुटी सकेर अराइभलबाट डिपार्चरतर्फ जाँदै गर्दा प्रहरीले उनलाई चेकजाँच गरेका थिए। तर, आफूसँग केही नभएको भन्दै उनले चेकजाँचमा सहयोग नगरेपछि प्रहरी र उनीबीच विवाद सुरू भएको थियो।

विवाद बढ्दै गएपछि हात हालाहालको स्थिति आएको र त्यहाँ रहेका प्रहरीले उनीमाथि कुटपिट गरेको स्रोतले जानकारी दिएको छ। मोक्तान कुटिएपछि त्यहाँ पुगेका अध्यागमन प्रमुख हमालले घटनाबारे बुझ्न सिसीटिभी फुटेज हेरेका थिए। फुटेजमा मोक्तानमाथि चार/पाँच जना प्रहरीले कुटपिट गरेको देखिएपछि उनी आक्रोशित भएका थिए। त्यसपछि प्रहरीले उनीमाथि पनि कुटपिट गरेको हो।

अध्यागमनका सूचना अधिकारी दाहालले कर्मचारीले आफूसँग केही नभएको बताउँदा पनि मोक्तानमाथि कुटपिट गरेको बताए।

‘मसँग केही छैन भन्दाभन्दै उहाँहरूले कुटिहाल्नुभएछ। कर्मचारीलाई चोरको व्यवहार गरेर छामछुम गरेर नाङ्गै पार्ने त होइन नी!,’ उनले दियोपोस्टसँग भने।

यसबारेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र मन्त्रालयका सचिवलाई जाहेरी दिइएको उनले बताए।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी भीमप्रसाद ढकालले घटनाबारे बुझिरहेको जानकारी दिए।

‘सामान्य विवाद भएको भन्ने जानकारीमा आएको छ। यसबारेमा बुझ्दैछौं,’ उनले भने।