अदालतबाट फरार भएका थुनुवाको हत्कडी खोल्ने ३ जनाविरुद्ध मुद्दा

दियो पोस्ट डेस्क  

काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट पुस १८ गते फरार भएका ठगी मुद्दाका थुनुवा कमल खड्काको हत्कडी खोल्ने ३ जनाविरुद्ध मुद्दा चलाइएको छ।

हत्कडीसहित भाग्ने खड्कासहित हत्कडी खोल्ने तथा फरार भएका थुनुवालाई राखेको आरोपमा थप ३ जनालाई पनि मुद्दा चलाइएको हो।

हत्कडीसहित फरार भएर भोलिपल्टै पक्राउ परेका सिन्धुपाल्चोकको बाह्रबिसे–२ घर भएका ३२ वर्षीय खड्कासँगै बाह्रबिसे–३ का १८ वर्षीय पारस तामाङ, बाह्रबिसे–४ का २५ वर्षीय मोहनबहादुर तामाङ र बाह्रबिसे–५ का १९ वर्षीय रोनिष तामाङविरुद्ध मुद्दा चलाइएको छ। थुनुवा भाग्नरभगाउन नहुने कसुरमा उनीहरुविरुद्ध मुद्दा चलाइएको हो।

थुनछेक बहसका लागि अदालत उपस्थित गराइएका थुनुवा कमल खड्का प्रहरीलाई छक्याएर अफलाइन पठाओ चढेर हत्कडीसहित फरार भएका थिए।

खड्का यसअघि प्रकाश बुढाथोकीको जाहेरीले २०७८ फागुन २२ गते डाँका मुद्दामा २ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना सुनाइएका व्यक्ति रहेका खुलेको छ। पटके कसुरदार भएकाले खड्काविरुद्ध थप सजाय समेत मागदाबी गरिएको छ।

यसअघि पक्राउ परेर अदालतबाटै फरार भएका खड्कालाई ठगीको कसुरमा भने जिल्ला अदालतले ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर धरौटी तिर्न नसकेकाले उनलाई केन्द्रीय कारागार सुन्धारामा पठाइएको छ।