
सिन्धुली । बचतकर्ताको लाखौं रकम हिनामिना गरेको आरोपमा सिन्धुलीको फिक्कल गाउँपालिकाका उपाध्यक्षविरुद्ध मुद्दा दायर भएको छ । पुतलीसडकस्थित नाता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बचतकर्ताको ७२ लाख भन्दा बढी रकम हिनामिना गरेको आरोपमा गाउँपालिका उपाध्यक्ष राजु बरालसहित ११ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको हो । उपाध्यक्ष बरालसहितले बचतकर्ताको ७२ लाख ३२ हजार ३५० रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ । यो सहकारीले आकर्षक ब्याज दिने भन्दै रकम बचत गर्न लगाएर हिनामिना गरेको खुलेको हो ।
जिल्ला प्रहरी परिसर टेकुले सहकारी ठगी प्रकरणमा अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान फाइल पठाएको थियो। सोही फाइलको आधारमा सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा उपाध्यक्ष बराल सहितलाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको छ।
बरालसहित ११ जनालाई प्रतिवादी बनाइएको मा २ जना मात्रै पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा दोलखाको कालिन्चोक गाउँपालिका–५ घर भएका सहकारीका तत्कालीन सचिव ३७ वर्षीय कुमार खड्का र सिन्धुलीको तीनपाटन गाउँपालिका–६ घर भइ सहकारीको कोषाध्यक्ष पदमा रहेका ३८ वर्षीय अर्जुन थापा छन्।
त्यसैगरी सहकारीको उपाध्यक्ष रहेका तथा सिन्धुलीको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बराल, अध्यक्ष अम्बरबहादुर थापा, सदस्यहरु हरिष चन्द्र माझी, माया कुमारी चौधरी, इन्द्रबहादुर थापा, सिन्धुलीको तीनपाटन–४ का ३८ वर्षीय जयकुमार बाराकोटी, तीनपाटन–६ कि ३५ वर्षीया सूर्य कुमारी पुलामी, संखुवासभाको धर्मदेवी नगरपालिका–५ का ४२ वर्षीय छबिलाल रानामगर, तीनपाटन–६ का ३० वर्षीय ओमकुमार थापा लाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ।उनीहरुले बचतकर्ताको ७२ लाख ३२ हजार ३५० रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ । यो सहकारीले आकर्षक ब्याज दिने भन्दै रकम बचत गर्न लगाएर हिनामिना गरेको आरोप लागेको छ । पक्राउ परेका कुमार खड्काले भने आफू निर्दोष रहेको र सहकारी घोटाला गरिएको थाहा पाएपछि आफैंले सहकारी विभागमा समेत उजुरी हालेको दाबी गर्दै प्रहरी समक्ष बयान दिएका छन्।
सहकारी ठगीबारे उपाध्यक्ष बरासँग बुझ्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन ।