पुल भाँचिदा ठप्प बनेको पूर्वपश्चिम राजमार्ग तीन वटा वैकल्पिक बाटो प्रयोग गरेर खुलाइँदै

दियोपोस्ट संवाददाता  

काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीस्थित विनयी खोलाको दुम्कीबासमा पुल भाँचिएपछि अवरुद्ध सवारी आवागमनका लागि वैकल्पिक बाटोको प्रयोग गर्न थालिएको छ ।

जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्वका अनुसार अहिले तीनवटा वैकल्पिक बाटोबाट सवारी आवागमन भइरहेको छ ।

उनका अनुसार विजयी त्रिवेणी गाउँपालिका–२ ज्यामिरेबाट भित्रि बाटो त्रिवेणी चोक हुँदै गुम्बाचोकबाट राजमार्गमा निस्कने एउटा रुट प्रयोग भएको छ । जुन रुट अहिले चलिरहेको राजमार्ग भन्दा ५ किलोमिटर लामो पर्न जान्छ ।

त्यस्तै, ठूला सवारी साधन ज्यामिरे पेट्रोलपम्प हुँदै सिजीचोक, डाँडाचौर, होङ्सि गेटमा पुग्ने अर्को बाटो प्रयोग गरिएको छ । उक्त बाटो १८ किलोमिटर लामो पर्नजाने स्रोतले बतायो ।

त्यस्तै, भाँचिएको पुल नजिकै अर्को एउटा डाइभर्सनबाट पनि सवारी आवागमन गराइएको छ । उक्त रुटबाट भने ६ पांग्रे सवारी साधन मात्रै ओहोरदोहोर भइरहेका छन् ।

पूर्वी नवलपरासीमा रहेकामध्ये विनयी खोलामा बनेको यो सबैभन्दा लामो पुल हो ।

भारतीय हेबी ट्रक एन एल ०१ ए एच ५१७९ नम्बरको ट्रक पुलबाट पास हुने क्रममा पुल एक्कासी भाँचिएको हो ।