काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गर्दा एमाले नेता तथा पूर्वकोशी प्रदेश सांसद बिमल कार्की पनि ६ महिनाका लागि निलम्बनमा परेका छन् । एमाले कोशी प्रदेश सचिव राजकुमार भण्डारीका अनुसार कार्कीले सामाजिक सञ्जालमा पार्टी अध्यक्ष ओलीलाई प्रश्न गरेपछि उ ६ महिनाका लागि निलम्बनमा परेका हुन् ।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीको कार्यशैलीबारे सामाजिक संजालमा आलोचना गरेपछि कार्कीलाई प्रदेश कमिटीले मंसिर १६ मा स्पष्टीकरण सोधेको थियो । कार्की २०७४ को प्रदेश सभा निर्वाचनमा उदयपुरको क्षेत्र नम्बर १ को १ बाट प्रदेश सांसद निर्वाचित भएका थिए ।
केही समय अघि व्यापारी मीनबहादुर गुरूङले एमालेलाई जग्गा दान गरेर भवन पनि बनाइदिने विषयको आलोचना गरेपछि नेता भीम रावल पार्टीबाट निष्कासनमा परेका थिए । नेतृ विन्दा पाण्डे र उषाकिरण तिम्सिना पनि ६ महिनाका लागि निलम्बनमा परेका थिए ।