थुनछेक बहस नसकिएपछि पूर्वडीआईजी छविलाल जोशीलाई फर्काइयो हिरासत

दियोपोस्ट संवाददाता  

काठमाडौं । नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) छविलाल जोशीलाई हिरासतमा फर्काइएको छ। काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीमा मुद्दामा आइतबार थुनछेक बहस नसकिएपछि डीआईजी जोशीलाई प्रहरीको जिम्मा लगाएर पठाउने आदेश भएको हो।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासमा उनको बयान भएको हो। बयान सकिएर आजै सरकारी वकिलले बहस पनि गरेका छन्। तर उनको तर्फबाट पनि बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको हो।

अब सोमबार बहस सकिएपछि थुनछेक आदेश हुने अदालतले जानकारी दिएको छ।

सूर्यदर्शन सहकारी ठगीको अभियोगमा कास्की अदालतबाट ८८ लाख धरौटीमा रिहा भएका जोशी आइतबार बिहान जिल्ला अदालतमा हाजिर भएका हुन्। यसअघि कास्की प्रहरीको हिरासतमै रहँदा काठमाडौँ ल्याएर उनको बयान प्रहरीले लिएको थियो। तर अदालतमा पनि छुट्टै बयान हुन्छ।

अदालतमा बयान सकिएपछि उनको थुनछेक बहस भएको हो। यही मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ६० लाख धरौटीमा रिहा भएका छन्।

कास्कीमा लामिछानेले ६५ लाख धरौटी बुझाएका थिए। काठमाडौँको मुद्दामा पनि रविलाई भन्दा छविलाई बढी बिगो कायम गरिएको छ। रविलाई ५ करोड ८ लाख र छविलाई ५ करोड ७८ लाख बिगो कायम गरिएको थियो।