आइसिसी यू-१९ महिला विश्वकपमा ऐतिहासिक जितबाट चुक्यो नेपाल

दियोपोस्ट संवाददाता  

काठमाडौं । १९ वर्ष मुनिको महिला विश्वकप क्रिकेटमा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ । यससँगै नेपालको सुपर सिक्समा पुग्ने सम्भावना कठिन बनेको छ ।

नेपालले दिएको ७४ रनको लक्ष्य स्कटल्याण्डले ८ बल बाँकी छँदा ९ विकेट गुमाएर पूरा गर्‍यो । नेपालकी सिमाना केसी र रचना चौधरीले २–२ विकेट लिएपनि जितका लागि पर्याप्त हुन सकेन ।

स्कटल्याण्डका लागि पिपा स्प्रोलले ३५ रनको शानदार पारी खेल्दै टोलीलाई खेलमा जीवितै राखेकी थिइन् ।

त्यसअघि बांगीस्थित युएसडी–युकेएम ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाएर ७३ रन बनाएको थियो ।

नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक २७ र ओपनर सावित्री धामीले १० रन बनाउनु बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । वान डाउनमा ब्याटिङ गरेकी पुजाले ४३ बल खेल्दा ३ चौका प्रहार गरिन् ।