रास्वपाले संसदमा रविको सांसद पद निलम्बनको विरोध जनाउने,अध्यादेश अस्वीकारको प्रस्ताव गर्ने

दियोपोस्ट संवाददाता  

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले  रास्वपाका संसदीय दलको नेता तथा पार्टी सभापति रवि लामिछानेलाई प्रतिनिधिसभा नियमावलीविपरित निलम्बन गरेको विषयमा संसदमा बिरोध जनाउने भएकाे छ।

आजको बसेको संसदीय दलको बैठकले राजनीतिक प्रतिशोध राखेर सम्पत्ति शुद्धीकरणको मुद्दा दायर  गरेर प्रतिनिधिसभा नियमावलीविपरित निलम्बन गरेको विषयमा संसदमा बिरोध जनाउने निर्णय गरेकाे रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बताए ।

उनले भने, ‘उहाँको सांसद पद निलम्बन भएको छ। त्यो प्रतिनिधि सभाको नियमावली र संविधानसँग मिल्दैन। उहाँलाई अन्य मुद्दासँगै सम्पत्ति शुद्धीकरणको मुद्दा जोडिएको छ। त्यो संविधानको विपरित छ। हामीले चाँडै न्याय पाउँछौं। उहाँ चाडै संसद फर्किनुहुन्छ। त्यसैले हामी अहिले दलको उपनेताबाटै कामकारबाही अघि बढाउँछौं।’ उनले आजको बैठक पनि उपनेता विराजभक्त श्रेष्ठको समन्वयमा बसेको बताए।

यस्तै रास्वपाले  सरकारले ल्याएको अध्यादेशको अस्वीकारको प्रस्ताव पनि संसदमा दर्ता गर्ने निर्णय गरेको छ। केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले सरकारले संसद छलेर ल्याएकाले अस्वीकारको प्रस्ताव दर्ता गर्ने निर्णय गरेको छ।