काठमाडौं । विपक्षी दलहरूले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने निर्णय गरेका छन् ।
बिहीबार प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्न निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा सात दल सहभागी भएको र बैठकले शुक्रबारबाट सञ्चालन हुने संसद् अधिवेशनमा सकारले गलत विधि र प्रक्रिया मार्फत ल्याएको अध्यादेशलाई अस्वीकार गर्ने निर्णय भएको जानकारी दिएका छन् । उनले विपक्षी दलहरूले संसद् बोलाउने बेला नै अध्यादेश ल्याउनु गलत मनशाय रहेको निष्कर्ष निकालेको बताए ।
सिंहदरबारमा बसेको बैठकमा माओवादी अध्यक्ष प्रचण्डसहित नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डिपी अर्याल, वेदुराम भुसाल, महेन्द्रराय यादव, नारायणकाजी श्रेष्ठ, देव गुरुङ, स्वर्णिम वाग्ले र सन्तोष परियार लगायतका नेताहरु सहभागी छन्।