सभामुखले पेलेरै अघि बढेपछि रास्वपा सांसदद्वारा १५ मिनेट संसद् बैठक बहिस्कार

दियोपोस्ट संवाददाता  

काठमाडौं । सभामुख देवराज घिमिरेले पेलेरै संसद बैठक चलाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले १५ मिनेटको लागि बैठक बहिस्कार गरेका छन्।

प्रतिनिधिसभा नियमावली २०७९ को दफा १५ अनुसार बोल्नका लागि समय मागेकोमा सभामुखले समय नदिएपछि उनीहरूले उठेर बैठक अवरोध गरेका थिए

सभामुख घिमिरेले बस्नका लागि पटक-पटक अनुरोध र आग्रह गर्दा समेत नमानेपछि सभामुखले पेलेरै बैठक अघि बढाएपछि रास्वपा सांसदहरूले १५ मिनेटका लागि बैठक बहिस्कार गरेका हुन्।

रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले सभामुखले आफूहरूलाई दोस्रो दर्जाको सांसदको व्यवहार गरेको भन्दै विरोधस्वरुप बैठक बहिस्कार गरेको बताए।

यसबीचमा घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को दफा २१ को (ख)को व्यवस्था स्मरण गराउँदै आफ्नो आलोचना नगर्न चेतावनी समेत दिन भ्याए।

रास्वपा सांसदहरूले उठेर अवरोध गरिरहँदा समेत राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्रीको कार्यालयबाट आएका पत्रहरू पढेर सुनाए।