काठमाडौं । काठमाडौंको न्युरोडस्थित शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाका पूर्वअध्यक्षले एक व्यक्तिको लाखौँ रकम ठगी गरेका छन् । सुदुरपश्चिमको बझाङ जिल्ला साविक जयपृथ्वी नगरपालिका वडा नम्बर ४ हाल परिवर्तित जयपृथ्वी नगरपालिका ४ स्थायी वतन भई काठमाडौंको बुढानिलकण्ठ २ बस्ने निरहरी प्रसाद उपाध्यायले एक व्यक्तिबाट ४२ लाख २० हजार रुपैयाँ ठगी गरेर फरार भएका हुन् । उनी विरुद्ध प्रहरीले जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी गरेको छ ।
उपाध्यायबाट पीडित भएका व्यक्ति सुरज भण्डारी उपाध्यायसँगै विद्यालय पढ्दा देखिका साथी हुन् । लामो समय वैदेशिक रोजगारीका लागि जापानमा बसेर आएका भण्डारीबाट न्युरोडकै शुक्रपथ बहुउद्देश्यीय सहकरारीको व्यवहार मिलाउन भन्दै ४२ लाख २० हजार रुपैयाँ रकम लिएका थिए चक्रपथस्थित द बर्गर हाउस एण्ड क्रन्ची फ्राई चिकेन नामको रेष्टुरेन्टको हिसाब समेत मिलाउन भन्दै आफूसँग यतिका रकम लिएर लामो समयदेखि फिर्ता नगरेको र आफूले बैंकिङ कसुरमा जाहेरी दिएको पीडितले बताएका छन् ।
उपाध्यायले भण्डारीलाई आफ्नो एकल हस्ताक्षरबाट चल्ने गरिमा बैंकको न्युरोड शाखाको (खाता नम्बर ०४८१०४००७५२८७००००००१ , चेक नम्बर ००११६६७१६१ बाट) भुक्तानी गर्नु भन्दै २०८१ ऋसार १३ गतेको मितिमा साटिने गरि ४२ लाख २० हजारको चेक दिएको पीडितको भनाई छ ।
उक्त चेक भुक्तानीका लागि पटक पटक बैंकमा पेश गर्दा रकम नभएकाले बाउन्स गरेको र बैंकिङ कसुरको जाहेरी दिएको उनले बताएका छन् ।
गत साउन ९ गते जाहेरी दर्ता भएको भएपनि प्रहरीले पुस २१ गते मात्रै पक्राउ अनुमति निकालेको छ । पक्राउ अनुमति निकालेको २ दिन पछि नै उपाध्यायलाई फेला नपरेको भन्दै प्रहरी प्रतिवेदनसहित अदालतमा मुद्दा बुझाइएको छ ।