दशरथ रंगशालाबाट भ्रमण बर्ष २०२० को उद्घाटन, यस्तो छ कार्यक्रम तालिका

दियो पोस्ट  

काठमाडौँ । सरकारले राष्ट्रिय महोत्सवकै रुपमा मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० को बुधबार अर्थात सन् २०२० जनवरी १ तारिख (पुस १६ गते) देखि शुरु हुँदैछ । काठमाडौँको दशरथ रङ्गशालामा भव्य समारोहका बीच भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिनेछ ।

उद्घाटन समारोहलाई ध्यानमा राखेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले राजधानीका विभिन्न स्थानका सडक प्रयोग नगरेर वैकल्पिक रुट प्रयोग गर्न आग्रह गरेको छ ।

दिउँसोको समयमा ठमेलबाट र्‍यालि निस्केर रंगशाला सम्म जाने हुदाँ थापाथली, त्रिपुरेश्वर, कालिमाटी, शहिद गेट, जमल, केशरमहल क्षेत्रमा अत्यावश्यक सवारी साधन बाहेक अन्य सवारी साधन नचलाई वैकल्पिक रुट प्रयोग गर्न अनुरोध गरिएको छ ।

कार्यक्रममा आउने सम्पुर्ण सर्वसाधरणको लागि काठमाण्डौ मल अगाडि टुँडिखेलमा पार्किङ स्थल तोकिएको प्रहरीले जनाएको छ ।

ट्राफिक सम्बन्धि समस्या तथा अन्य जानकारी लिन परेमा ट्राफिक प्रहरीको हट लाईन नम्बर १०३ मा फोन गर्न र नियमित रूपमा मेट्रो ट्राफिक एफ.एम ९५.५ मेगाहर्ज सुनेर पनि जानकारी लिन अनुरोध गरिएको छ ।अपराह्न ४ बजेदेखि शुरु हुने उद्घाटन समारोहको औपचारिक कार्यक्रम पाँच घण्टासम्म चल्नेछ ।

सहभागी पाहुनाको स्वागत सेलिब्रेटीबाट गरिनेछ । नेपालको संस्कृति झल्कने नाचगानबाट शुरू हुने कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको सहयोगमा राष्ट्रगान बजाइनेछ ।नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मीको सहयोगमा राष्ट्रगान बजाइनेछ।

राष्ट्रगान सकिएलगत्तै बाजा सहित रंगशालामा भिजिट नेपाल २०२०को मानव साङ्लो बनाइनेछ। पौने पाँच बजे कुटुम्बको संगीतमा विभिन्न संघ संस्थाले परेड गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले स्वागत मन्तव्य राख्नेछन्। त्यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारीले भिजिट नेपाल २०२०को उद्घाटन गर्नेछिन् भने त्यसलगत्तै भ्रमण वर्षका लागि राष्ट्रिय गीत समेत सार्वजनिक गर्नेछिन्।

साढे ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमण वर्ष उद्घाटनमा मन्तव्य राख्नेछन्। पौने ६ बजेतिर भ्रमण वर्षको ‘यति मस्कट’को लन्च सँगै विभिन्न साँस्कृतिक कार्यक्रम पौने ८ बजे सम्म चल्ने तालिकामा उल्लेख छ।

अन्त्यमा उद्घाटन कार्यक्रम अतिसबाजी पड्काइ ‘यो मन त मेरो नेपाली हो।।’ बोलको नेपाली गीतसँगै उद्घाटन कार्यक्रम समापन गरिने जनाइएको छ। कार्यक्रम पौने ८ बजे सकिने अनुमान छ।

हेर्नुहोस् भ्रमण वर्ष उद्घाटनको कार्यक्रम तालिका

सिफारिस