माघ पहिलो सातासम्म उखु किसानको पैसा तिर्न सरकारको निर्देशन, नमाने कारवाही हुने

दियो पोस्ट  

काठमाडौैँ, पुष १६ । सरकारले चिनि मिल संचालकहरुलाई उखु किसानको बक्यौता रकम तिर्नका लागि माघ पहिलो सातासम्मको अल्टिमेटम दिएको छ । उखु किसानसँग बुधबार मन्त्रालयमा भएको वार्तामा सरकारले चिनि मिल संचालकहरुलाई माघको पहिलो सातासम्म बाँकी रहेको बक्यौता रकम तिर्न निर्देशन दिएको हो ।

मन्त्रालयमा भएको वार्तामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले माघको पहिलो सातासम्म सबै पैसा तिर्न मिल सञ्चालकलाई निर्देशन दिएका हुन्। मिल सञ्चालकलाई पुस २५ गतेभित्र ८० प्रतिशत रकम तिर्न भनिएको पनि उनले जानकारी दिए।

‘महालक्ष्मी सुगर मिल्सले त पुस २५ मै सबै पैसा तिर्छु भनेको छ,’ वार्तामा मन्त्री भट्टले भने।

उनले सरकारको निर्देशन नमान्नेलाई कारबाही गर्ने प्रतिवद्धता पनि किसानसँग व्यक्त गरेका छन्।

यता वार्तापछि पनि आन्दोलतरत उखु किसानले सरकारको आश्वासनको भर परेर नबस्ने अभिव्यक्ति दिएका छन् । सरकारले पटकपटक आश्वासन दिएको कारण ढुक्क हुने स्थिति नरहेको र अब के गर्ने भन्ने विषयमा वैठक बसेर निर्णय गर्ने जनाएको छ ।