काठमाडौँ, पुष १७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीसँग पुर्वएमालेलाई सभामुख पद दिन नसक्ने बताएका छन् । प्रधानमन्त्री ओलीसँगको भेटमा पार्टी एकता भएर एक भइसकेपछि पार्टी भित्रको मनोविज्ञान मिलि नसकेको कारण पुर्व एमालेलाई सभामुखको जिम्मेवारी दिन नसक्ने बताएका हुन् ।
अध्यक्ष दाहालले अन्तरपार्टी शक्ति सन्तुलन हुनुपर्ने भन्दै पुर्व माओवादीको तर्फबाट नै सभामुख बन्नुपर्ने धारण राखेका हुन् । उनले यसअघिको मन्त्रीपरिषद हेरफेरमा पनि शक्ति सन्तुलनलाई ध्यान दिइएको हुँदा पार्टी भित्रको मनोविज्ञान बुझ्नुपर्ने बताएका हुन् ।
यसअघिको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डसमक्ष सभामुखमा सुवास नेम्वाङको विकल्प नखोज्नका लागि आग्रह गरेका थिए ।
नेकपाले सभामुख को बन्ने भन्ने टुङ्ग्याउन नसक्दा प्रतिनिधि सभाको बैठक दुई पटक सूचनामार्फत् स्थगित भैसकेको छ। जबरजस्ती करणी प्रयासको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका थिए। असोजदेखि सभामुख पद रिक्त छ।
नेकपामा पूर्वएमाले समूहबाट नेम्वाङ र उपसभामुख शिवमाया तुम्बाहाङ्फेले सभामुखमा दाबी गरिरहेका छन्। पूर्वमाओवादीतर्फ भने अग्नि सापकोटा सभामुख बन्ने दौडमा छन्।