काठमाडौँ । मंगलबार बेलुकी फेसबुक म्यासेन्जरमार्फत सरीता र अर्जुनबीच कुराकानी भइरहेको थियो । कुरा हुँदै गर्दा अर्जुनले भने,-“आतंकबादी आए जस्तो छ, फोन राख ।” मन अमिलो बनाउँदै सरीताले फोन राखिन् । निकै बेरसम्म सम्पर्क गर्न खाेजिन । तर लाख कोशिस गर्दा पनि अर्जुनले फोन उठाएनन् । श्रीमानसंग फोन सम्पर्क नभए पछि सरीताकाे मन गरुङ्गो भयो ।
रातभरि ‘केही नहोस’ भन्दै प्राथना गर्दै रात बिताइन् । अर्को दिन बिहानै अशुभ खबर आयो । अर्जुनलाई गोली लागेर घाइते भएको खबरले सरीता भाव बिव्हल भइन् । उता, श्रीमतीसंग कुरा भएको केही बेरमै अर्जुनको आतङ्कवादी आक्रमणमा परी ज्यान गएको थियो । तर, सरीताको आशा भने जिबितै थियो । म्यासेन्जरमा फेरि श्रीमानको फोन आउने कुरामा उनी बिश्वस्थ थिइन् । तर, फोन आएन । बुधबार बिहान अर्जुनका साथीको मोबाइलबाट दुखद खबर भन्दै
सरितालाई एसएमएस पठाए । केही बेरपछि फोन मार्फत साथीले अर्जुनको मृत्युको खबर सुनाए । त्यसपछि सरीताको होस हवास उढ्यो । सरीता निकै राेइन् ।
भारतीय सैनिकमा जागिरे गोरखा नगरपालिका, ५ रिप गाउँका अर्जन थापा मगरको उसै रात जम्मू कश्मीरमा भएको आतङ्कवादी आक्रमणमा परी ज्यान गुमाएका थिए । ।
१० दिनअघि मात्र जागिरमा फर्किएका अर्जुनले यही असारमा सरीतासंग बिबाह गरेका थिए । उनी परिवारका एक्ला छोरा थिए । अर्जुनको ज्यान गएको खबरले यतिबेला सिङ्गो गाउँ नै शोकमा डुबेको छ ।
निकै मेहनत गरेर भारतीय सैनिकमा जागिर खाएका अर्जुनले २ वर्षअघि मात्र आमा गुमाएका थिए । अर्जुन ११ कक्षा पढ्दापढ्दै भारतीय सेना बनेका अर्जुनको घरमा बुवा, श्रीमती र एक बहिनी छन्। चार वर्षअघि भारतीय सेनामा भर्ना भएका अर्जुन एक महिनाको छुट्टीपछि पुस ५ गते कार्यक्षेत्रमा फर्किएका थिए ।
अर्जुनको निधनले परिवार बिचल्लीमा परेको छ । बुढा बुबालाई अर्जुनले फोनमा बारम्बार ‘अब धेरै दुःख गर्ने होइन । अब त म पनि राम्रै ठाउँमा जागिरे भएको छु । हजुरलाई अब सुखको साथ पाल्नेछु,’ भनेर सम्झाउने गर्थे । तर, बुढेशकालको एक मात्र भरोसा छोराको मृत्यु भए पछि बुवा शोकमा डुबेका छन् । भारतीय सेनाले शव बुझ्न काँकडभित्ता आउन भनेकाले अर्जुनका बुबा र सरितासहित केही गाउँले काँकडभित्ता गइसकेका छन् ।
उता, भारतीय सेनाले अर्जुन र उनीसंगै ज्यान गुमाएका महाराष्ट्रस्थित सतारा जिल्ला निवासी सावन्त सन्दीपले भारतका लागि सर्वोच्च बलिदानी गरेको भन्दै विज्ञप्ती निकालेर प्रशंसा गरेको छ ।

गत वर्ष नरेन्द्र मोदी सरकारले जम्मु कस्मिरलाई विशेष अधिकार दिने संविधानको धारा खारेज गरिदिएपछि भारत र पाकिस्तानबीचकाे सम्बन्ध तनावपूर्ण रूपले अघि बढिरहेको छ।
जम्मु कस्मिरको लाइन अफ कन्ट्रोलमा बेलाबेलामा दुबै देशका सेनाबीच गोलाबारीका घटना भइरहन्छन्। सुरक्षा व्यवस्था कायम राख्न जम्मु कस्मिरमा भारतले सुरक्षाकर्मी पहिलाभन्दा थपेको छ। त्यसमा भारतीय सेनाको गोर्खा रेजिमेन्ट सैनिकहरू पनि धेरै छन्।