काठमाडौँ, पुष १८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुंगानाबिरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । गैरकानुनी रुपमा अकुत सम्पत्ती आर्जन गरेको भन्दै आयोगले शुक्रबार विशेष अदालतमा मुद्धा दायर गरेको हो ।
उपसचिव ढुंगाना सार्वजनिक पदमा रहँदा गैरकानुनी सम्पत्ती आर्जन गरेको पुष्टि भएपछि उनिबिरुद्ध विशेष अदालतमा मुद्धा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् । उनका अनुसार ढुंगाना सार्वजनिक सेवामा प्रवेश गरेदेखि हालसम्म आर्जन गरेको वैध आय ७९ लख ५४ हजार ७ सय ९५ हुन्छ तर सो अवधीमा उनले गरेको खर्च ५ करोड ४८ लाख ३ हजार ३ सय ५१ अस्वभाविक देखिएको हो ।
उनले लगानी गरेको ४ करोड ६८ लाख ४८ हजार ५५६ रुपैयाँको स्रोत नखुलेकोले सोही बराबरको विगो दावि गर्दे विशेष अदालतमा उनीबिरुद्ध मुद्धा दायर गरिएको अख्तियारले जनाएको छ । उनले आफुले अवैध तरिकाले आर्जन गरेको सम्पत्ती श्रीमती मधुको नाममा समेत राखेको भन्दै अख्तियारले उनको श्रीमतीको नाममा रहेको सम्पत्ती जफत गरिने जनाएको छ ।
ढुंगानालाई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ बमोजिम सोही ऐनको दफा ३ तथा दफा २९ को उपदफा (२), प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिमको जरिवाना र कैद हुनका साथै साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग., दफा २९ को उपदफा (१) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तिको बिगो जफत गरी पाउन मागदाबी लिइएको छ।