भारतीय भूमीमा भारतीय झण्डा ओढाई गोरखाका अर्जुन थापाको अन्त्येष्टी

दियो पोस्ट  

काठमाडौँ, पुष १८ । कास्मिरमा आतंककारीको गोली लागि ज्यान गुमाएका गोरखाका अर्जुन थापा मगरको भारतीय भुमिमै अन्त्येष्टी गरिएको छ । भारतीय सैनिकमा कार्यरत गोरखा नगरपालिका–५ का २६ बर्षीय राइफलम्यान थापाको शुक्रबार अन्त्यष्टी गरिएको हो ।

गोली लागेर अर्जुनको मृत्यु भएपछि उनकी श्रीमती सरिता थापा मगर र ७० बर्षीय बाबु प्रेम बहादुर थापा सहित केही गाउँलेहरु बिहीबार पश्चिम बंगाल पुगेका थिए ।

अर्जुनको पार्थिव शरिरलाई भारतीय सैनिकले उच्च सम्मान गर्दै पश्चिम बंगलको बागडोगरा सैनिक क्याम्पमा अन्त्येष्टि गरिएको हो । अर्जुनलाई भारतको झण्डा ओढाएपछि उनका बाबुले दागबत्ती दिएका थिए ।

कस्मिरबाट भारतीय सेनाको हेलिकप्टरले थापाको शव ल्याएको थियो। भारतीय सेनाले शवयात्रा र उच्च सैनिक सम्मानसहित सलामी दिएपछि बाबु प्रेमबहादुरले छोरा अर्जुनलाई दागबत्ती दिए।

भारतीय सेनाका ब्रिगेडियर अविश यादवसहित उपस्थित सेनाले अर्जुनको शवलाई भारतीय झण्डा ओढाउँदै श्रद्धाञ्जली दिएका थिए।

अर्जुनको भारतीय भूमिका अन्त्येष्टि गरेपछि आफन्त र छिमेकी झन् पीडामा छन्। छिमेकीहरू सकेसम्म आफ्नो संस्कारअनुसार अर्जुनको अन्त्येष्टि नेपाली भूमिमा गराउन चाहन्थे। भारतीय सेनाले उच्च सम्मानसहित अन्त्येष्टि गर्ने बताएको र परिवारको पनि आर्थिक अवस्था कमजोर रहेकोले शव नेपाल ल्याउन नसकिएको बताइएको छ ।

सिफारिस