सरकार र उखु किसानबिच पाँचबुँदे सहमती, किसानको बक्यौता रकम माघ ७ भित्र उपलब्ध गराइने

दियो पोस्ट  

काठमाडौँ, पुष १८ । सरकार र आन्दोलनरत उखु किसानबिच पाँचबुँदे सहमती भएको छ । उद्योगमन्त्री लेखराज भट्टको उपस्थितिमा भएको वार्तामा आगामी माघ ७ गते भित्र उखु किसानको बक्यौता रकम उपलब्ध गराउने सहित पाँच बुँदे सहमती भएपछि उखु किसान संघर्ष समितिले आन्दोलन समेत स्थगित गरेको छ ।

विगत ९ दिनदेखि आन्दोलनरत उखु किसान संघर्ष समितिसँग सरकारले शुक्रबार साँझ वार्ता गरको हो । वार्तामार्फत उखु किसानहरुले सरकारले तोकेको मुल्य नै पाउने सहमती भएको छ । त्यसैगरि निर्धारित मितिभित्र उखु किसानलाइ रकम उपलब्ध गराउनका लागि उद्योग मन्त्रलयले समन्वय गर्ने सहमती भएको छ ।

साथै भुक्तानीको समस्या हल गर्न स्वचालित मूल्यबारे अध्ययन गर्ने, सरकारले दिने अनुदान समयमै उपलब्ध गराउन मन्त्रालयले अर्थ र कृषिलाई लेखेर पठाउने सहमति भएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले मन्त्रालयले पीडित कृषकको पक्षमा निर्णय गरेको र सम्बन्धित चिनी उद्योगलाई कृषकको भुक्तानी यथाशीघ्र गर्न पत्र काटेको बताएको छ ।


यदि त्यसो नगरे कारबाहीका लागि गृहमन्त्रालयलाई समेत ध्यानाकर्षण गराइएको उनले बताए । पीडित कृषकको पक्षमा कसरी काम गर्न सकिन्छ भनेर अहिले सम्बन्धित कृषि मन्त्रालय, विभाग र उद्योग मन्त्रालयबीच छलफल भइरहेको समेत उनले जानकारी दिए ।

यस्तो छ उखु किसानका मागहरु :

१. २०७० देखि २०७६ सम्मको सम्पूर्ण किसानहरुको रकम भूक्तानी दिनुपर्ने ।

२. नेपाल सरकारले दिनुपर्ने अनुदान रकम ६५/२८ पैसा बिना सर्त किसानको खातामा जम्मा गर्नुपर्ने ।

३. नेपाल सरकारले तोकेको उखुको मूल्य प्रतिक्विन्टल ५३६/२८ पैसा भूक्तानी किसानले पाउनु पर्ने । (उद्योगले ४७१ रुपैयाँ, सरकारले ६५/२८ पैसा)

४. उखु मिलले जुनाको नाममा ढाला काटेको ५ देखि २० प्रतिशतसम्मको ह्रासकट्टी किसानले भूक्तानी पाउनुपर्ने ।

५. नेपाल सरकारले किसानलाई उन्नत मल, बीउ, खाद्य तथा सिंचाई सुलभ मूल्यमा सरकारले उपलब्ध गराउनुपर्ने ।

६. किसानको उखु तौल भएको मितिले १५ दिनभित्रसम्म उखुको रकम भूक्तानी उद्योग र सरकारले दिनुपर्ने ,

७. २०७६/७७ सिजनको भुक्तानी ५३६ रुपैयाँ ५६ पैसा एकसाथ हुनुपर्ने ।

८. सम्पर्क किसानहरुको रकम भुक्तानी गरेपछि मात्र उद्योग सञ्चालन गनुपर्ने ।

९. उखुको बीमा उद्योग र सरकारले गर्नुपर्ने ।

१०. किसानले उत्पादन गरेको सम्पर्क उखु खरिद गर्नुपर्ने, नगरे उद्योगले क्षतिपूर्ति दिनुपर्ने ।

११.उखु काटेको ३६ घण्टाभित्रमा तौल गरी सक्नुपर्ने ।