विमानस्थलबाट दुई भारतीय पक्राउः पेटभित्र हिरा, क्यापसुल बनाएर सुनको तस्करी

दियो पोस्ट  

काठमाडौँ, पुष २० । त्रिभुवन विमानस्थलबाट प्रहरीले दुई जना भारतीयलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मलेसियाबाट आएका मोहम्मद माहिन साथली र सारजाबाट आएका कोट्ककुथ नौसाद रहेका छन् । प्रहरीले उनिहरुको साथबाट अवैध हिरा र सुन बरामद गरेको छ ।

सारजाबाट आएका नौसादको साथबाट औषधीको क्यापसुल जस्तो बनाएर ल्याइएको ५ सय ग्राम सुन बरामद गरेको छ । त्यस्तै मलेसियाबाट आएका मोहम्मद माहिन साथलीले भने आफ्नो पेट भित्र हालेर २ सय ग्राम हिरा तस्करी गरेको प्रहरीले जनाएको छ । भन्सार पास भएपछि उनलाई प्रहरीले शंकाको भरमा मेडिकल कलेज पुर्याएको थियो । त्यहाँ परिक्षण गर्दा उनको पेटमा २ सय ग्राम हिरा भेटिएको महानगरिय प्रहरी परिसरले जनाएको छ ।

प्रहरीले विशेष सुचनाको आधारमा विमान स्थलभित्र कडा निगरानी राखेको थियो । केही दिनदेखि सुन तस्करहरु थप क्रियाशिल हुन थालेपछि प्रहरी चनाखो बनेको हो । यसअघि विहिबार भारतीय नागरिकहरु नविन गोपी चन्द र भरत सुरेशलाल २ किलो सुन सहित पक्राउ परेका थिए । त्यस्तै १५ गते मंगलबार पनि आधा किलो सुनसहित भारतीय नागरिक हरिराम नेपाली पक्राउ परेका थिए ।उनीहरु तीनै जनाले मलद्धारमा सुन लुकाएर ल्याएका थिए ।