काठमाडौँ, पुष २० । नेपालमा लुकिछिपी गैरकानुनी कार्यमा लागेको आशंकामा पक्राउ परेका १ सय २२ चिनियाँ नागरिक एक हजार रुपैयाँ जरिवाना तिरेर छुटेका छन् । आइतबार साँझ जिल्ला प्रशासन कार्यलय काठमाडौँले पक्राउ परेका चिनियाँ नागरिकहरुलाई एक हजार जरिवाना तिराएर छोड्न आदेश गरेको हो ।
अभद्र व्यवहारसम्बन्ी मुद्धामा चिनियाँ नागरिकहरुले कसुर स्वीकार गरेपछि उनिहरु जरिवाना तिरेर छुटेका हुन् । चिनियाँ नागरिकको कुनै कसूर नभेटेको भन्दै अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धानको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।
सरकारी वकिलको रायअनुसार चिनियाँ नागरिकले कसूर स्वीकारेकाले एक हजार रुपैयाँ जरिवाना गराउने आदेश दिइएको जिल्ला प्रशासन कार्यलयले जनाएको छ । ‘प्रतिवादीले आरोप सकारेकोले थप बुझ्नु पर्ने देखिएन’ जिल्ला प्रशासन कार्यलय काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जारि गरेको आदेशमा भनिएको छ ।
नेपाल प्रहरीले चीनसँग समन्वय गरेर ७ पुसमा काठमाडौंमा संयुक्त अपरेशन चलायो र एकैदिन १२२ चिनियाँ नागरिक पक्राउ गरियो ।
अभद्र व्यवहारसम्बन्धी कसूरमा १० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कानूनी व्यवस्था छ ।
जबकी नेपाल र चीनको संयुक्त अपरेशन भन्दै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुले ७ पुसमा १२२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । उनीहरुले नेपालमा बसेर अवैध गतिविधि गरिरहेको प्रहरीको दाबी थियो ।