काठमाडौँ, पुष २० । अष्ट्रेलियामा गत तीन महिनादेखि लागेको भीषण डढेलोको कारण करिब ५० करोड पशुपंक्षी जलेर नष्ट भएको एक अध्ययनले देखाएको छ । अष्ट्रेलियाको युनिभर्सिटी अफ सिड्नीका जैविक विविधता विज्ञ प्राध्यापक क्रिस डिकम्यानका अनुसार आगलागीका कारण हालसम्म ४९ करोडभन्दा माथि पशुपंक्षी जलेर मरेको बताएका छन् ।
प्राध्यापक डिकम्यानले विविसीलाई तथ्यांक दिँदै डढेलो लागेको तीन महिनाको अवधीमा अस्ट्रेलियामा ठुलो संख्यामा पशुपंक्षीहरुको विनाश भएको बताएका हुन् । ४९ करोडको तथ्यांक दिँदै डिकम्यानले सो संख्या डढेलोबाट मर्ने किराफट्यांग्रा बाहेक चराचुरुंगी र पशुहरु रहेको जनाइएको छ ।
उक्त तथ्यांकमा कंगारु, गाइबस्तु तथा जंगली जनावरहरु समेत ठुलो संख्यामा जलेर मरेको बताइएको छ । तीन महिनादेखिको डढेलोको कारण हाल अष्ट्रेलियाको वायुमण्डल निकै प्रदुषित बनेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ । आगलागीबाट करिब ५९ लाख हेक्टर क्षेत्रफल जंगल प्रभावित बनेको छ ।
आगलागीकै कारण २३ जना अस्ट्रेलियानले ज्यान गुमाइसकेका छन् भने दुई हजार ६ सय घरहरु नष्ट भएका छन्। अझै धेरै स्थानमा यसको प्रभाव पर्ने क्रम जारी छ।
एनएसडब्लु सरकारले दुई पटक संकटकाल समेत धोषणा गरेर डढेलो नियन्त्रणको प्रयास गर्यो। पछिल्लो तीन महिनादेखि वर्षा समेत नभएका कारण चर्को घामले डढेलो विस्तार हुँदै गएको छ।
आगलागी भएपछि अष्ट्रेलियाको तापक्रम निकै बढिरहेको छ । राजधानी क्यानबेरामा ८० वर्षपछिकै सबैभन्दा धेरै तापक्रम ४४ डिग्री सेल्सियस पुगेको त्यहाँको मौसम विभागले जनाएको छ । पश्चिमी सिडनीको पेन्ड्रिथ उपनगरमा करिब ४८ डिग्री सेल्सियस तापक्रम पुगेको विभागले जनाएको छ ।
अहिले अष्ट्रेलियाका कूल ६ मध्ये ४ प्रदेश आगोबाट प्रभावित छन् । अष्ट्रेलियाको पूर्वी तटमा सबैभन्दा धेरै तातो छ । नोभेम्बरको सुरुतिर पनि ७० ठाउँमा लागेको आगो निभाउन १५०० भन्दा धेरै सैनिक र अग्नि नियन्त्रक परिचालन गरिएको थियो ।
तयारी अवस्थामा राखिएको तीन हजार सैनिकलाई पनि आगो निभाउने कार्यमा खटाउन लागिएको अष्ट्रेलियाका प्रधानमन्त्री स्टक मोरिसनलाई उधृत गर्दै बिबिसीले जनाएको छ ।