
काठमाडौँ, पुष २० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष बिच बालुवाटारमा छलफल शुरु भएको छ । नेकपाबाट सभामुख कसलाई बनाउने भन्ने विषयमा निर्णय लिनका लागि प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षहरु छलफलमा जुटेका हुन् । छलफलमा महासचिव विष्णु पौडेल पनि सहभागी रहेका छन् ।
संसदमा सभामुख नहुँदा विभिन्न महत्वपुर्ण काम रोकिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष प्रचण्डलाई सभामुखका लागि सुवास नेम्बाङको बिकल्प नखोज्नका लागि आग्रह गरेका थिए । जवाफमा प्रचण्डले पनि पार्टी एकता भएपनि भावनात्मक तवरमा अझै पनि पुर्व माओवादी र पुर्व एमाले देखिएको कारण सभामुख पुर्वमाओवादीले पाउनुपर्ने बताएका थिए । प्रचण्ड नेता अग्नी सापकोटालाई सभामुख बनाउन इच्छुक देखिन्छन् ।
नेकपाले सभामुख आफुले लिएर उपसभामुख अन्य दललाई प्रस्ताव गर्ने तयारी गरेपनि उपसभामुख शिवमाया तुम्वाहाङफेले राजीनामा नदिएकाले संसद बैठक पटकपटक सर्दै आएको छ । पुस ४ गते सुरु भएको प्रतिनिधि सभा बैठक सुचना टाँसेर त्यसयता दुई पटक स्थगित भैसकेको छ । अवको बैठक पुस २७ गतेलाई बोलाइएको छ ।
सभामुख बाहेक अन्य विषयमा पनि छलफल हुने बालुवाटार स्रोतले जनाएको छ । ३ नम्बर प्रदेशको राजधानी र माधव कुमार नेपालले आइतबार दिएको अभिव्यक्तिको विषयमा छलफल हुन लागेको हो ।
प्रचण्ड र ओलीले केही दिन अघि ३ नम्बर प्रदेशको राजधानी हेटौँडाबाट दायाँवायाँ नगर्न आदेश गरेका थिए । प्रदेशका सांसदहरुले भने प्रदेशमा केन्द्रिय हस्तक्षेप मान्य नहुने भन्दै मौखिक विरोध गरेका थिए । प्रदेशको राजधानी र प्रदेशको नामाकरणको विषयमा आज प्रचण्ड र ओली दुबैले छलफल गर्ने छन् ।
त्यस्तै धनगढी पुगेर नेकपा वरिष्ठ नेता माधव कुमार नेपालले सचिवालय सदस्य बढाउनुपर्ने भनेर दिएको अभिव्यक्तिको विषयमा पनि दुई अध्यक्षले छलफल गर्ने छन् । नेता नेपालले आइतबार धनगढी पुगेर तत्कालीन एमालेका उपाध्यक्ष भीम रावल र अष्टलक्ष्मी शाक्यलाई सचिवालयमा ल्याउनुपर्ने बताएका थिए ।