भ्रमण बर्ष प्रचारप्रसारमा अवरोध भएको छैनः पर्यटनमन्त्री भट्टराई

दियोपोस्ट संवाददाता

काठमाडौँ, पुष २२ । नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसार गर्न अष्ट्रेलिया पुगेका पर्यटनमन्त्री योगेश भट्टराईले भ्रमण वर्षसम्बन्धी कार्यक्रममा कुनै पनि अवरोध नभएको बताएका छन्। अनुमती नलिई प्रचारप्रसार गरिएको भन्दै विभिन्न संचारमाध्यमहरुले समाचार लेखेपछि त्यसको खण्डन गर्दै मन्त्री भट्टराईले त्यहाँको प्रहरीले कुनैपनि हस्तक्षेप नभएको बताएका छन् ।

‘प्रहरीले हस्तक्षेप गरेको भनेर आएका समाचार गलत हुन्’ सामाजिक संजालमार्फत मन्त्री भट्टराईले भनेका छन् । उनले मौन जुलुसबाट पर्यटन बर्षको प्रवर्द्धन गरिएको र कार्यक्रम भव्य रुपमा सम्पन्न भएको बताएका छन् । अष्ट्रेलियामा रहेको नेपाली राजदुतावासले आयोजना गरेको कार्यक्रममा स्टेटका सभामुखसहित नगर प्रमुखहरुको समेत उपस्थित रहेको र उनिहरुले समेत शुभकामना मन्तब्य राखेको मन्त्री भट्टराईले स्पष्ठ पारेका छन् ।

भ्रमण बर्षको शुभारम्भका अवसरमा त्यहाँ रहेका नेपालीहरुले अस्ट्रेलिया र नेपालको झण्डा हल्लाउँदै र्याली गरेका थिए । कार्यक्रममा बोल्दै पर्यटनमन्त्री भट्टराईले स्ट्रेलियामा डढेलोका कारण भएको क्षतिप्रति दुःख व्यक्त गरे । उनले त्यहाँ रहेका नेपालीहरुलाई पनि अस्ट्रेलियाको संकटमा साथ दिनका लागि आह्वान गरे ।