भारतमा ४ जना बलात्कारीलाई फाँसीको सजाय

दियोपोस्ट संवाददाता

एजेन्सी । भारतको अदालतले एक किशोरीलाई बलात्कार गरि हत्या गर्ने ४ जनालाई फाँसीको सजाय सुनाएको छ । पटियाला हाउस अदालतले नयाँदिल्लीमा सन् २०१२ को डिसेम्बर १६ मा मेडिकल कलेज पढिरहेकी निर्भयाको बलात्कार गरि हत्या गरेको अभियोगमा चार जनालाई फाँसीको सजाय सुनाएको हो ।

बलात्कारपछिको हत्यामा दोषी ठहर गर्दै उक्त अदालतले अक्षय गुप्ता, पवन गुप्ता, विनय शर्मा र मुकेश सिंहलाई माघ ८ गते फाँसी दिने निर्णय सुनाएको हो । अदालतको आदेशअनुसार उनिहरुलाई माघ ८ गते बिहान ७ बजे मृत्युदण्ड दिइने छ ।

सन् २०१२ मा दिल्लीमा गुडिरहेको बसमा उनीहरुले २३ वर्षीया निर्भयाको बलात्कार गरेर हत्या गरेको थियो । सो घटनामा ६ जनाको संलग्नता रहेको थियो । घटनामा संलग्न रहेका एक जनाले जेलभित्रै आत्महत्या गरिसकेका छन् भने अर्का एक जना नाबालक रहेको भन्दै सुधारगृहमा पठाइएको थियो ।

बलात्कारपछि हत्या गरेको आरोप लागेका चारै जनालाई दिल्ली उच्च अदालतले २०१४ मा दोषी ठहर गरेको थियो। उनीहरुले मृत्युदण्डको फैसलाविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । सर्वोच्च अदालतले गत डिसेम्बरमा उनीहरूले दिएको पुनर्विचार निवेदन खारेज गर्ने निर्णय गरेको थियो ।

निर्भयाकी आमा आशादेवी ७ वर्षदेखि छोरीको आत्मको शान्तिका लागि न्यायको लडाई लड्दै आएकी थिइन् । उनले अदालतले सुनाएको फैसलाको स्वागत गर्दै छोरीले न्याय पाएको प्रतिक्रिया दिएकी छिन् ।