चन्द्रागिरी–२ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, चालु आर्थिक बर्षमा यस्ता काम भए ( विवरणसहित)

चन्द्रागिरी–२ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, चालु आर्थिक बर्षमा यस्ता काम भए ( विवरणसहित)

काठमाडौँ, पुष २४ । काठमाडौँस्थित चन्द्रागिरी नगरपालिका २ नम्बर वडाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । बिहीबार स्थानीय विकेड भिल्लामा स्थानीय वडाका जनप्रतिनिधि र जनताहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा चालु आर्थिक बर्ष २०७६÷०७७ को मंसिर महिनासम्म वडास्तरबाट भएको कार्यप्रगती विवरण प्रस्तुत गरिएको थियो ।

राजश्व संकलन

यस आर्थिक बर्षको मंसिर महिनासम्म वडाबाट २० लाख ५१ हजार ८ सय २३ रुपैयाँ राजश्व संकलन भएको उल्लेख गरिएको छ । जसमध्य मालपोतबाट ५ लाख ४३ हजार ७० रुपैयाँ, सिफारिस तथा अन्य आयबाट ९ लाख ९८ हजार ८ सय १८ रुपैयाँ राजश्व संकलन भएका छन् ।

त्यस्तै घर करबाट वडाले ८२ हजार ८ सय राजश्व संकलन गरेको उल्लेख गरिएको छ । बहाल करबाट १ लाख ५७ हजार ६ सय पाँच, व्यवसाय दर्ताबाट १ लाख ६ सय ७० , दण्ड जरिवानाबाट ३ हजार ३ सय, विज्ञापन दस्तुरवापत २२ हजार र एकीकृत सम्पत्ती करमार्फत १ लाख ४३ हजार ५ सय ५८ रुपैयाँ राजश्व संकलन भएको हो । यसै आर्थिक बर्षमा मात्र ४८ वटा व्यवसाय दर्ता भएको वडाध्यक्ष गोपी सुर्खेतीले बताएका छन् ।

सामाजिक सुरक्षा भत्ता वितरण

चन्द्रागिरी नगरपालिकाको २ नम्बर वडामा सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको संख्या २ सय ८३ जना रहेका छन् । जसमध्य ७९ जना ज्येष्ठ नागरिक, ३० जना दलित ज्येष्ठ नागरिक, १ सय ४६ जना एकल महिला, ७ जना शारिरीक अशक्तता भएका व्यक्ति, २ जना पुर्ण अपांग रहेका छन् । वडाबाट १९ जना बालबलिकाहरु बालपोषण भत्ताबाट लाभान्वित भएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

वडा कार्यलयले चालु आर्थिक बर्षमा सामाजिक सुरक्षावापतको भत्ता स्वरुप २६ लाख ६४ हजार ८ सय रुपैयाँ वितरण गरेको जानकारी दिएको छ ।

विकास निर्माण र योजना

वडा कार्यलयले जारि गरेको प्रतिवेदन अनुसार वडा क्षेत्रमा विभिन्न ४९ वटा योजना हरु स्वीकृत भएका छन् । केन्द्र, प्रदेश र स्थानीय तहको स्वीकृतीमा ८ करोड ८ लाख ५० हजार रुपैयाँ बराबरमो योजना स्वीकृत भएका छन् । त्यसमध्य २२ वटा योजनाहरुमा सम्झौता समेत भइसकेका छन् । १८ वटामा भने सम्झौता हुन बाँकी रहेको बताइएको छ ।

हाल वडाभित्र ६ वटा आयोजनाहरु संचालनमा रहेका छन् । विभिन्न परियोजनाहरु निर्मााणधिन अवस्थामा रहेको र २ वटा भने सम्पन्न भइसकेको जनाइएको छ ।

भुकम्पपछिको पुन निर्माण
भुकम्प बाट क्षतिग्रस्त घरहरुको पुन निर्माणका लागि चन्द्रागिरी–२ का २ सय जनाले तेस्रो किस्ता लिइसकेका छन् । त्यस्तै ३ सय जनाले दोस्रो किस्ता लिइसकेका छन् भने ६ सय जनाले पहिलो किस्ता लिएर घर निर्माण थालेका छन् ।

वडाभित्र ३६ जना लाभग्राही सँग अनुदान सम्झौता भई अनुदान प्राप्त गर्ने प्रकृयामा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै २५ जना लाभग्राहीको गुनासो सम्बोधन भई प्राविधिकद्धारा सर्वेक्षण गरि सम्झौताको तयारी रहेको छ ।

स्थानीय जनताको गुनासो

सार्वजनिक सुनुवाईमा वडाका स्थानीय जनताहरुले आफ्नो जनप्रतिनिधिहरुसँग विभिन्न प्रश्न राखे । विकास निर्माण देखि वडालाई व्यवस्थित गर्नका लागि विभिन्न सुझावहरु समेत जनस्तरबाट प्राप्त भएको वडाध्यक्ष गोपी सुर्खेतीले बताए ।

स्थानीयले वडालाई व्यवस्थित बनाउनका लागि सर्वप्रथम फोहोरमैेला व्यवस्थापनलाई विशेष ध्यान दिनका लागि आग्रह गरेका छन् । सडकको पेटीमा अव्यवस्थित तरिकाले थुपारिएको फोहोरहरुलाई व्यवस्थापन हुन नसक्दा जनप्रतिनिधिहरुको भनाई र गराईमा कतिको भिन्नता छ भन्ने कुराको स्पष्ठ हुने कुरा स्थानीय जनताले राखेका छन् । उनिहरुले सडकको पेटीमा अव्यवस्थित तरिकाले खोलिएका घुम्ति पसलहरुले पनि वडा अव्यवस्थित देखिएको र त्यसलाई तत्काल व्यवस्थापन गर्नुपर्ने बताए । त्यस्तै वडाभित्रका भुस्याहा कुकुरहरुको व्यवस्थापन पनि चुनौतीको विषयको रुपमा देखा परेको स्थानीयको गुनासो रहेको छ । अव्यवस्थित होडिङबोर्डले वडाभित्रको शहरलाई कुरुप बनाएको र यसलाई तत्काल व्यवस्थापन गर्नुपर्ने उनिहरुको भनाई छ ।

वडाभित्र रहेका उद्योग कलकारखानाहरु अनुमति लिएर संचालन भएको भएतापनी तिनीहरुले न्युनतम मापदण्ड समेत पुरा नगरेको स्थानीयको गुनासो रहेको छ । कलकारखानाबाट निस्कने फोहोरमैलाहरु यत्रतत्र देखिने हुँदा कारखाना वरपर कम्पाउण्डले घेर्नुपर्ने उनिहरुको सुझाव छ यसका लागि सम्बन्धित निकायलाई वडा कार्यलयमार्फत ताकेता गर्न पनि उनिहरुले आग्रह गरे ।

वडामा भएका विकासनिर्माणका कामहरु सन्तोषजनक देखिएको र आगामी दिनहरुमा जनताको आवश्यकतालाई मध्यनजर गर्दै वडाले सकारात्मक कार्यक्रमहरु ल्याउनेमा विश्वस्त रहेको स्थानीयहरु बताउँछन् ।

Trending News