विप्लवलाई नेकपामा आउन ढिला नगर्न प्रचण्डको आग्रह

दियो पोस्ट  

काठमाडौँ, पुष २२ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द विप्लवलाई नेकपामा आउनका लागि ढिलाई नगर्नका लागि आग्रह गरेका छन् । विप्लव नेतृत्वको नेकपाका पोलिटब्यूरो सदस्य मोहन कार्कीलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले ढिलोचाँडो विप्लव पनि नेकपामै आउनुपर्ने बताएका हुन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले विप्लव नेकपामा आउन जति ढिलाई गर्छन् उनलाई त्यति नै धेरै बेफाइदा हुने बताएका छन् । यसबाट उनिसहित देश र जनतालाई पनि फाइदा नहुने बताएका छन् । उनले विप्लव एक न एक दिन अवश्य नेकपामा आउनेमा आफु ढुक्क रहेको बताए ।

नेकपा पार्टी कार्यलय धुम्बाराहीमा भएको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष दाहालसहित महासचिव विष्णु पौडेल लगायतक उपस्थित थिए । विप्लव नेतृत्वको नेकपा त्यागेर सत्तारुढ दल प्रवेश गरेका कार्कीले विप्लवभित्र राजनीतिक इमानदारिता नभएको कारण आफुले परित्याग गरेको बताए ।