विप्लव त्यागेर नेकपा प्रवेश गरेका कार्की भन्छन्, ‘विप्लवमा साहस, नैतिकता र इमानदारित देखिनँ’

दियो पोस्ट  

काठमाडौँ, पुष २५ । सरकारबाट प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य रहेका मोहन कार्की सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । उनले विप्लवसँग राजनीतिक साहस, नैतिकता र इमानदारिता नभएको कारण उनको साथ छोडेको बताएका छन् ।

शनिबार नेकपा कार्यलय धुम्बाराहीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनलाई पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेशपछि बोल्दै कार्कीले आफु सहजै विप्लव छोडेर आउने पक्षमा नभएको तर विप्लवमा राजनीतिक साहस, नैतिकता र इमानदारिता देखिन छाडेपछि आफुले उक्त समुह छोडेको बताएका हुन् ।

उहाँहरु सैद्धान्तिक रुपमा भन्दा पनि फौजी रुपमा हिंसात्मक तरिकाले अगाडी बढेको बताएका छन् । आफुले पार्टीभित्र रहँदा बम पड्काउने कामको पनि विरोध गरेको बताए । ‘बम किन हानिरहेको भनेर सोध्दा हानेको छैन भन्थे तर बम पड्किरहेका हुन्थे’ उनले भने ।

कार्कीकाअनुसार उनी पार्टीले दिएको वार्ताकै जिम्मेवारीका क्रममा चैत १ मा पक्राउ परेका थिए । त्यसयता विभिन्न जेलमा ८ महिना विताएका उनी साउनमा छुटे । तर विप्लव वार्ता गर्ने आफ्नै निर्णयमा अड्न नसकेको भन्दै भन्छन्, ‘उहाँले आफूले गरेका कुरा र कामको ओनरसिप लिन सक्ने अवस्था देखिएन ।’

विप्लवले वैज्ञानिक समाजवादमा जाने कुरा गरेको र नेकपाले त्यही भनेको भन्दै उनले यसमा छलफल गर्ने प्रस्ताव आफूले विप्लव समूहमा हुँदा राखेको सुनाए । ‘तपाईको क्रान्तिका मोडल र सैन्य रणनीति के हो भनेर मैले भनेको हुँ’ उनी भन्छन्, ‘उहाँहरुको शंकास्पद खालका गतिविधिहरु चाहिँ मन परेन ।’

पार्टीका अधिकांश नेताहरुसँग आफ्नो राम्रो सम्बन्ध भएको तर कुनै माग नभएको कार्कीले बताए । विगतमा आफूले बाटो विराएको नभई रुपान्तरणको बहसमा रहेको र र नेकपा प्रवेश गर्दा पुनर्मिर्लनको अनुभव भएको कार्कीले सुनाए ।