काठमाडौँ, पुष २७ । संघीय सांसदको आज बस्ने भनिएको वैठक सुचना टाँस गरेर माघ ६ गतेसम्मका लागि स्थगित गरिएको छ । सत्तारुढ दल नेकपाबाट सभामुख कसलाई बनाउने भन्ने निर्णय हुन नसक्दा प्रतिनिधि सभाको वैठक लगातार तीन पटकसम्म सुचना टाँसेर स्थगित गरिएको हो ।
यसअघि उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आज सदन चलाउने भनेपनि वैठक बस्न सकेन । उनलाई पार्टी नेतृत्वले उपसभामुखबाट राजिनामा गर्नका लागि निर्देशन दिएको थियो । उपसभामुख तुम्बाहाङ्फेले पार्टी नेतृत्वको निर्देशनलाई सिधै अस्वीकार गरेकी छिन् ।
नेकपामा सभामुख कसलाई बनाउने भन्ने मतभेद छ । प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली पूर्व सभामुख सुवासचन्द्र नेम्वाङलाई सभामुखको उम्मेदवार बनाउने योजनामा छन् भने प्रचण्ड अग्नि सापकोटा वा पम्पा भुषालमध्ये एकलाई सभामुख बनाउनुपर्ने पक्षमा छन् । दुवै नेताले आ–आफ्नो अडान नछाड्दा सभामुख चयन प्रकृया अन्यौलमा परेको छ ।