काठमाडौं, २७ पुस । राष्ट्रिय तेक्वान्दो संघमा रहेका प्रदेश ३ का सचिवसहित दुई दर्जनभन्दा बढी नेतृत्व नेपाल तेक्वान्दो संघमा प्रवेश गरेका छन् । आइतबार ललितपुरको सातदोवाटो स्थित नेपाल तेक्वान्दो संघको आफ्नै भवनमा आयोजित प्रवेश कार्यक्रममा राष्ट्रिय संघका प्रदेश ३ का सचिव राजु शाक्य सहित २ दर्जन भन्दा बढी नेतृत्वले प्रवेश गरेका हुन् ।
उनीहरुलाई नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश राणा र प्रदेश ३ का अध्यक्ष केशव पुरीले संयुक्त रुपमा स्वागत गरेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि राणाले संघमा प्रवेश गर्ने खेलाडीहरुलाई कुनै विभेद नगरी सम्मान पूर्वक व्याबहार गर्ने प्रतिवद्धता जनाए ।
नेपाल तेक्वान्दो संघ प्रदेश नम्बर ३ का अध्यक्ष केशव पुरीको सभापतित्वमा भएको कार्यक्रममा नेपाल राष्ट्रिय तेक्वान्दो संघ प्रदेश नम्बर ३ का कोषाध्यक्ष बाडा समेत प्रवेश गरेका छन् ।
त्यस्तैगरी नेपाल राष्ट्रिय तेक्वान्दो संघ प्रदेश ३ का सदस्य दावा दोर्जे योन्जन, रामकृष्ण श्रेष्ठ, श्रीजन महर्जन, सुनिल श्रेष्ठ, ललितपुर जिल्ला अध्यक्ष सागर भक्त अमात्य, उपाध्यक्ष अच्युत खड्का, सचिव साजन महर्जन, कोषाध्यक्ष रुमन महर्जन, ललितपुर जिल्ला सदस्यहरु श्रृजना भूजेल, नेत्र बहादुर थिङ, जीवन लामा, सुन बहादुर पाख्रिन, केन्द्रीय सदस्य रघुनाथ खत्री, काठमाडौं जिल्ला अध्यक्ष विनय महोरा, ललितपुर सदस्य प्रशन्ना थापा मगर लगायत २ दर्जनभन्दा बढी नेतृत्वले उक्त संघ परित्या गरी नेपाल तेक्वान्दो संघ प्रवेश गरेका हुन् ।
प्रवेशीहरुको तर्फबाट बोल्दै ललितपुर जिल्ला अध्यक्ष सागर भक्त अमात्यले आफूहरु खेलको अनुशासन भित्र बसेर यहाँ प्रवेश गरेको बताए । उनले आफुहरुलाई पुरानो आफ्नै घरमा प्रवेश गरेको महशुस भएको समेत बताए ।
तत्कालिन राष्ट्रिय खेलकुद परिषदका सचिव युवराज लामाले नेपाल तेक्वान्दो संघमा विभाजन ल्याइदिएका थिए । पूर्व माओवादी निकट शिव कोइराला ‘ज्वाला’को नेतृत्वमा गठित नेपाल राष्ट्रिय तेक्वान्दो संघ बनाए पनि यो संघका अधिकांश खेलाडी यतिबेला नेपाल तेक्वान्दो संघमा प्रवेश गर्न थालेका छन् ।