रियल मड्रिडलाई ११ औँ पटक स्पेनिस सुपर कपको उपाधी

दियो पोस्ट  

काठमाडौँ, पुष २८ । स्पेनिस सुपरकपको उपाधी रियल मड्रिडले जितेको छ । आइतबार राति भएको खेलमा एट्लेटिको मड्रिडलाई पेनाल्टी सुटआउटमा ४–१ ले पछि पार्दै रियलले उपाधी हत्याएको हो ।

निर्धारित र अतिरिक्त समयको खेल गोल रहित बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको हो ।

एट्लेटिको मड्रिडका औल निगुएज र थोमस मार्टे पेनाल्टीमा चुकेका थिए ।

पहिलो हाफ गोलको लागि निकै कठिन सावित भएको थियो । जोआओ फिलिक्सले पहिलो हाफमा केही राम्रो अवसर पाएका थिए । तर उनको गोल गर्न सकेनन् ।

रियलले दोस्रो हाफमा सुधारिएको प्रर्दशन गरेको थियो । तर सर्बियन फरवार्ड लुका जोभिकको प्रहार बतासिएको थियो । दोस्रो हाफमा पनि दुबैतर्फबाट कुनै गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा खेलाइएको थियो ।

अतिरिक्त समयमा अल्भारो मोराटालाई फल गरेपछि फेडरिको भल्भर्डे रातो कार्ड खादै मैदान बाहिरिएपछि रियल १० खेलाडीमा समेटिएको थियो ।

रियलले ११ औ पटक स्पेनिस सुपर कपको उपाधि उचालेको हो ।