जनकपुर, पुष २८ । अवैध उत्खननको विरोध गर्दा हत्या गरिएका दिलिप महतोको परिवारलाई प्रदेश २ सरकारले पाँच लाख आर्थिक सहयोग गर्ने भएको छ । सोमबार बिहान बसेको प्रदेश मन्त्रीपरिषदको वैठकले दिलिपको परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।
धनुषा मिथिला नगरपालिका–५ का दिलिप महतोले अवैध उत्खनन्को विरोध गर्दा गत शुक्रबार उनको हत्या भएको थियो । उनको हत्या गरेको अभियोगमा चुरियामाई क्रसरका संचालक विपिन कुमार महतोसहित ४ जनालाई प्रहरीले नियन्त्रमा लिइसकेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट दिलिपको हत्या क्रुररतापुर्वक गरिएको खुल्न आएको छ । विपिन सहितको टोलीले दुर्घटना जस्तो देखाएर दिलिपको हत्या गरेका थिए । स्थानीय र दिलिपको परिवारको विरोधका कारण प्रहरीले पनि घटनामा अनुसन्धान शुरु गरेको थियो । दिलिपका बाबु लाई क्रसर संचालकले केही समय अगाडी नै छोराको ज्यान लिने चेतावनी दिएका थिए ।
अवैध उत्खनन्को विरोध गर्ने दिलिप इन्जिनियरका विद्यार्थी हुन् । उनले भर्खरै मात्र भारतबाट इन्जिनियरिङको अन्तिम सेमेस्टरको परिक्षा दिएर नेपाल आएका थिए ।
मन्त्रीपरिषदको वैठकले प्रदेशमा भएका अवैध क्रसरहरुलाई समेत तत्काल बन्द गर्न निर्देशन दिएको छ ।