काठमाडौँ, माघ ५ । जिल्ला प्रशासन कार्यलय काठमाडौँले गायीका आस्था राउतलाई पक्राउ गर्न अनुमती दिएको छ । आइतबार जिल्ला प्रशासन कार्यलय काठमाडौँले राउतलाई अभद्र व्यवहार सम्बन्धी कसुरमा पक्राउ गर्न प्रहरीलाई अनुमती दिएको हो ।
विमानस्थलमा कार्यरत महिला प्रहरीले आफुमाथि अभद्र व्यवहार गरेको भन्दै फेसबुक लाइभमार्फत गाली गरेकी थिईन् । प्रहरीले उक्त भिडियो र घटनाको अनुसन्धान गरि जिल्ला प्रशासन कार्यलयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।
प्रतिवेदनकै आधारमा जिल्ला प्रशासन कार्यलय काठमाडौँले अनुमती दिएको हो । योसँगै राउत प्रहरीको सूचीमा फरार अभियुक्त बनेकी छन् ।
भिडियोमा राउतले आफुलाई प्रहरी कर्मचारीले तँ भनेको भन्दै आफुमाथि अभद्र व्यवहार गरेको आरोप लगाएकी थिईन् । ‘आफ्नो हातमा कफी भएको कारण आफै चेक गर्नुहोस् भनेँ तर उनले ज्याकेट खोल् भनेर भनिन् । ’, भिडियोमा उनले भनेकी छिन्, ‘कसलाई तँ भनेको आई ।’
भिडियोमा उनले प्रहरी मेरो साथी भन्ने नारा पनि हटाउन भनेकी छिन् । प्रहरीको तल्लो तहको कर्मचारीहरुलाई निकै तुच्छ गाली गरेकी थिईन् ।
भिडियो भाइरल भएपछि प्रहरी प्रधान कार्यालय, नक्सालले अनुसन्धानका लागि महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीलाई निर्देशन दिएको थियो । त्यसपछि रानीपोखरीबाट विमानस्थलमा भएको घटनाबारे छानबिन सुरु भएको थियो ।
त्यसक्रममा संकलन गरिएको फुटेजबाट आस्थामाथि दुर्व्यवहार नभइ, उनले चाहिँ महिला प्रहरी रमिला श्रेष्ठलाई अभद्र व्यवहार गरेको देखिएको प्रहरी दाबी छ । त्यसपछि श्रेष्ठले पनि अभद्र व्यवहार सम्बन्धी कसुरमा कारबाहीको माग गर्दै विमानस्थल सुरक्षा प्रहरी कार्यालयमार्फत किटानी जोहरी दिएकी थिइन् ।