अग्नि सापकोटाद्धारा सभामुखमा उम्मेदवारी दर्ता, प्रस्तावकमा सुवास नेम्बाङ

दियो पोस्ट  

माठमाडौँ, माघ ७ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता अग्नि प्रसाद सापकोटाले सभामुख पदका लागि उम्मेदवारी दर्ता गरेका छन् । मंगलबार संसद सचिवालय पुगेर सापकोटाले सभामुख पदका लागि उम्मेदवारी दिएका हुन् ।

सापकोटाको प्रस्तावकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र समर्थकमा नेता देव गुरुङ,ओनसरी घर्ती र राजपाका लक्ष्मणलाल कर्ण रहेका छन् ।

सोमबारको नेकपा सचिवालय वैठकले सापकोटालाई सभामुख बनाउने निर्णय गरेको थियो । वैठकको निर्णयपश्चात सोमबार नै उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पदबाट राजिनमा गर्दै सभामुख चयनका लागि मार्गप्रशस्त गरेकी थिइन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भने सभामुखका लागि उम्मेदवारी नदिने निर्णय गरेको छ । सभामुख पद तटस्थ हुनुपर्ने भन्दै काँग्रेसले उम्मेदवारी नदिने निर्णय गरेको हो ।

निवर्तमान सभामुख कृष्ण बहादुर महरा बलात्कार प्रयास आरोपमा मुछिएपछि गत असोजदेखि सभामुख पद खाली रहँदै आएको छ ।

TATA ADD