
काठमाडौँ, माघ ७ । प्रतिनिधि सभाको सभामुख पदमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अग्नि प्रसाद सापकोटा निर्विरोध चयन भएका छन् । सभामुख पदका लागि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उम्मेदवार दर्ता नगराएपछि सापकोटा निर्विरोध चयन भएका हुन् ।
सभामुखका सापकोटा चयन भएको औपचारिक घोषणा भने माघ १२ गते हुनेछ । सापकोटाले मंगलबार सभामुखका लागि उम्मेदवारी दिएका थिए । सापकोटाको प्रस्तावकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र समर्थकमा नेता देव गुरुङ,ओनसरी घर्ती र राजपाका लक्ष्मणलाल कर्ण रहेका थिए ।
संसद सचिवालयले सभामुखको उम्मेदवार दर्ताको लागि मंगलबार विहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समय तोकेको थियो । निर्धारित समयभित्र कुनै पनि राजनीतिक दलको तर्फबाट उम्मेदवार दर्ता नभएपछि सभामुखमा सापकोटा पक्कापक्की भएका हुन् ।
४ महिनादेखिको रिक्त सभामुखको पदका लागि नेकपाले आइतबार मात्रै सहमती जुटाएको हो । नेकपा सचिवालय वैठकले सापकोटालाई सभामुख बनाउने निर्णय गरेको थियो । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच आइतबार नै सहमती जुटेको थियो ।
सभामुखमा नेकपाले उम्मेदवारी दिने निश्चित भएपछि उपसभामुख शिवमाया तुम्बाहाङफेले सोमबार राजिनामा दिएकी थिईन् । संसद सचिवालयको सभामुख र उपसभामुख फरकफरक दलको हुनुपर्ने प्रावधान अनुसार शिवमाया तुम्बाहाङले पदबाट राजिनामा दिएर सभामुखको लागि मार्गप्रशस्त गरेका हुन् ।
सभामुखको टुंगो लागिसकेपछि उपसभामुखका भने प्रतिपक्षी दलले उम्मेदवार टुंग्याउने छ । प्रतिपक्षी दल नेपाली काँग्रेस र राजपाबिच उपसभामुखको बिषयमा सहमतीको प्रयास भइरहेको छ ।