नागढुंगाबाट ६ सय ३४ थान अवैध मोबाइल सेटसहित २ जना पक्राउ

दियो पोस्ट  

काठमाडौँ, माघ ८ । नागढुंगा प्रहरीले अवैध चोरि निकासी गर्ने २ जनालाई पक्राउ गरेको छ । गएराति भारतीय नम्बर प्लेटको कारमा लुकाईछिपाई ल्याइँदै गरेको विभिन्न कम्पनीका ६ सय ३४ सेट मोबाइल फोन सहित २ जनालाई पक्राउ गरेको हो ।

डिएल २ सिएटी ७०१७ अंकित भारतीय नम्बर प्लेटको कार चेकिङ गर्ने क्रममा सो परिमाणको मोवाइल फोन बरामद भएको हो। कारमा फल्स बटम प्रयोग गरि लुकाई छिपाई काठमाडौँ भित्रिँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो ।

चेकजाँचमा खटिएको प्रहरी टोलीले उक्त कारबाट एप्पल, ओप्पो, सामसुङ, माइक्रोम्याक्स लगायत विभिन्न ब्राण्डका मोबाइल फोनहरु बरामद गरेको हो । साथै मोबाइलमा प्रयोग हुने अन्य विद्युतीय उपकरणहरु समेत बरामद भएको प्रहरीले जनाएको छ । उक्त मोबाइल फोनहरु भन्सार छलि गरि ल्याइएको प्रहरीले जनाएको छ ।

प्रहरीले चोरी निकासीमा संलग्न सोही कारका ड्राइभर सिन्धुपाल्चोक जिल्लाको चौतारा नगरपालिका वडा नम्बर ५ बस्ने इन्द्र बहादुर कटुवाल र काठमाडौँ महानगरपालिका वडा नम्बर ३१ का ४० बर्षीय उमेष भट्टलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका दुबै जनालाई महानगरिय प्रहरी बृत्त थानकोटमा राखि थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।