काठमाडौँ, माघ १० । नेकपाबाट सभामुख पदका लागि निश्चित भईसकेको स्थायी समिति सदस्य अग्नि सापकोटाबिरु सर्वोच्च अदालतमा रिट दायर भएको छ । हत्यामा मुछिएका व्यक्तिलाई सभामुख निर्वाचन गर्न नहुने भन्दै अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट दायर गरेका हुन् ।
रिट दायर गर्दै अधिवक्ता त्रिपाठीले सापकोटालाई सभामुख निर्वाचित गर्न रोक्न माग गर्दै सभामुखको निर्वाचन प्रक्रिया समेत रोक्न समेत माग गरेका छन् । उनिबिरुद्ध लागेको आरोपको बिषयमा पनि छानविन गरि आवश्यक कारवाहीको दायराभित्र ल्याउनका लागि रिटमा माग गरिएको छ ।
सापकोटा सभामुखमा निश्चित भइसकेपछि विभिन्न अधिकारकर्मी संगठनहरुले समेत यसको विरोध गरेका थिए । इन्सेक नेपालले विज्ञप्ती जारी गरेर नै सभामुखमा सापकोटालाई नियुक्त गर्नुअघि सरकारले सोच्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको थियो ।
माओवादी युद्धका बेला २०६२ वैशाख १६ गते काभ्रेको छत्रबाँझस्थित कृष्ण माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन लामालाई अपहरण गरेर हत्या गरेको आरोप सापकोटामाथि छ ।
आगामी १२ गते सापकोटालाई सभामुखको घोषणा गर्ने संसद सचिवालयको कार्यसुची रहेको छ । नेकपा सचिवालय वैठकले सभामुखको लागि अग्नि सापकोटालाई उम्मेदवार घोषणा गरेको थियो । उनिबिरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उम्मेदवारी दर्ता नगराएपछि सापकोटा सर्वसम्मत् रुपमा सभामुख चयन भएका हुन् ।