काठमाडौँ, माघ १० । वैदेशिक रोजगारको लागि पोल्याण्ड पठाईदिन्छु भन्दै लाखौँ रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेपलाञ्चोक जिल्ला रोशी गाउँपालिका वडा नम्बर १२ घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका–३ फुटुङ बस्दै आएका ३८ बर्षीय गुनराज लामालाई महानगरिय अपराध महाशाखाले पक्राउ गरेको हो ।
पक्राउ परेका लामाले रोजगारको लागि पोल्याण्ड पठाइदिन्छु भन्दै नौ जनाबाट ६८ लाख लिएर फरार भएका थिए । उनले रामकृष्ण खड्का लगायतका ९ जनालाई पोल्याण्ड पठाउछु भनेर दुबई हुँदै अजरवैजान पुर्याइ अलपत्र छाडेर फरार भएका थिए ।
उनिबिरुद्ध पीडितहरुले उजुरी गरेपछि महाशाखाको विशेष टोली लामाको खोजीमा लागेको थियो । लामालाई बिहीबार ३ बजेको समयमा काठमाडौँको तीनकुनेबाट पक्राउ गरेको महाशाखाले जनाएको छ ।
उनलाई नियन्त्रणमा लिएर महानगरिय प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।