अग्नी सापकोटा सभामुख पदमा निर्विरोध निर्वाचित

दियो पोस्ट  

काठमाडौँ, माघ १२ । प्रतिनिधि सभाको सभामुख पदमा अग्नीप्रसाद सापकोटा नियुक्त भएका छन् । आइतबार संसद सचिवालयको वैठकले सापकोटालाई निर्विरोध निर्वाचित गरेको हो ।

उनिबिरुद्ध कुनैपनि उम्मेदवारी नपरेको कारण सापकोटा निर्विरोध सभामुख पदमा निर्वाचित भएका हुन् ।

संसदका ज्येष्ठ सदस्य महन्थ ठाकुरले प्रतिनिधि सभा नियमावली २०७५ को नियम ७ को उपनियम ३ बमोजिम सापकोटा सभामुखमा निर्वाचित भएको घोषणा गरेका हुन् ।

सापकोटालाई सभामुख पदमा निर्वाचित गरियोस् भनेर नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रस्ताव गरेका थिए भने उक्त प्रस्तावलाई देव गुरुङ, ओनसरी घर्ती र लक्ष्मणलाल कर्णले समर्थन गरेका थिए ।

संसदले चार महिनाको रस्साकस्सी पछि सभामुख पाएको हो । सत्तारुढ दल नेकपा भित्रकै आन्तरिक द्वन्दका कारण नै सभामुखको कुर्ची खाली थियो । पार्टीभित्र दुई अध्यक्षको सहमतीबाट नै अग्नी सापकोटा सभामुख बनाइएका हुन् । नेकपा अध्यक्ष प्रचण्डले नै सापकोटालाई सभामुख बनाउनुपर्ने लविङ गर्दै आएका थिए । भागवण्डाको आधारमा नै प्रधानमन्त्री ओली समेत प्रचण्डको अनुरोध स्वीकार्न वाध्य भएका हुन् ।

नेकपाबाट सभामुख बनाउनका लागि उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पदबाट राजिनमा गरेकी थिईन् । आजको प्रतिनिधि सभा वैठकमा बोल्दै निवर्तमान उपसभामुख तुम्बाहाङले सभामुख हुन लागेका सापकोटालाई सफल कार्यकालको शुभकामना दिए ।

नपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले सापकोटाबाट धेरै आशा गरिएको बताए । उनले सभामुख पदका लागि अग्नी सापकोटाको एक परिक्षा भएको र उक्त परिक्षका लागि नेपाली काँग्रेसले साथ दिने प्रतिवद्धता समते बताए । प्रजातन्त्र पुनस्थापनादेखि निरंकुश राजसंस्था फाल्नका लागि सबै दलहरु एकजुट भएर लागेको बताउँदै अब देशमा शान्ति स्थापना र स्थायीत्व र विकासका लागि एकजुट भएर लाग्नु पर्ने र त्यसका लागि संसदमा सभामुखले सबै दलको बिचारलाई सम्मान गर्न सक्नुपर्ने सुझाएका छन् । ‘हिजो दुई पक्षमा हुँदा तपाई एकातिर हुनुहुन्थ्यो’ सापकोटालाई इंगित गर्दै उनले भने, ‘अब तपाईँ हाम्रो साझा हो । ’

सभामुख पद तटस्थ हुनुपर्ने भएको कारणले नै नेपाली काँग्रेसले कुनैपनि उम्मेदवार नदिएको रिजालले बताए । उपसभामुखको बार्गेनिङ गर्नका लागि काँग्रेसले सभामुखको लागि उम्मेदवार नउठाएको कुरा गलत भएको समेत उनले बताएका छन् ।

प्रतिनिधि सभाको आगामी वैठक माघ १४ मंगलबार दिनको १ बजे बस्ने छ ।