पत्रकारमाथि हातपात गर्ने जनकपुरका मेयरबिरुद्ध किटानी जाहेरी

दियो पोस्ट  

जनकपुर, माघ १२ । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहविरुद्ध प्रहरीमा जाहेरी परेको छ । नेपाल पत्रकार महासंघका जनकपुर शाखा अध्यक्ष अनिल मिश्रले आइतबार जिल्ला प्रहरी कार्यलय धनुषामा जाहेरी दिएका हुन् ।

जानकी मन्दिरको फूलबारी अतिक्रमणका विषयमा प्रतिक्रिया लिन पुगेका पत्रकारहरुलाई कार्यकक्षमा मेयर साहले हातपात गरेका थिए । घटनामा कान्तिपुर टेलिभिजनका पत्रकार अमरकान्त ठाकुर, उज्यालो नाइन्टी नेटवर्कका सुभाष कर्ण, एबिसी टेलिभिजनका सुमित मिश्रलाई कुटपिट गरी घाइते बनाएको थियो ।

सोही घटनाको सिसिटिभी फुटेज तथा घटनाको अनुसन्धान गरी दोषिलाई पक्राउ गरी कारवाही गर्ने लिखित सहमति कार्यान्वयन भएपछि आफुहरु बाध्य भएर कानून उपचारमा गएको संघर्ष समितिका संयोजक किरण कुमार कर्णले बताए ।

घटनाको विषयमा गत शुक्रबार साँझ जनकपुरधाम उप-महानगरपालिकाको तर्फबाट प्रदेश २ का नीति आयोगका उपाध्यक्ष भोगेन्द्र झा, लोकसेवा आयोगका सदस्य महारुद्र झा, मेयर लालकिशोर साह, उपमेयर रीता मिश्र र निमित्त प्रमुख प्रशासकीय अधिकृत मिहिलाल यादवसंग पत्रकार महासंघको बार्ता विफल भएको थियो। वार्ता विफल पछि महासंघको पूर्व निर्धारित कार्यक्रम अनुरुप किटानी जाहेरी दर्ता गराइएको हो ।