काठमाडौँ, माघ १५ । रौतहटको सिमानामा प्रहरी र भारतीय हतियारधारी समुहबिच दोहोरो भीडन्त भएको छ । मंगलबार राति १२ बजे रौतहटको इशनाथ नगरपालिका–१ बन्जराटोल नजिकैको बकैयानदी किनारमा आपराधिक समुहसँग प्रहरीको मुठभेड भएको हो ।
सुरक्षा गस्तीमा रहेको नेपाल प्रहरीमाथि हतियारधारी समुहले गोली चलाएपछि प्रहरीले जवाफी फाइरिङ गरेको हो । प्रहरीसँगको दोहोरो भिडन्तका क्रममा हतियारधारी समुहका एक जना घाइते भएका छन् । प्रहरीको गोली लागि भारत, बिहार मोतिहारी कुण्डवा चैनपुर थानाक्षेत्र अन्तर्गत जटौलिया ग्राम पन्चायत वडा नं ४ का शेख चाँद अली घाइते भएका छन् । उनलको खुट्टामा गोली लागेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।
पक्राउ परेका चाँदअली मोस्टवान्टेड अपराधी भएको समेत प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट उनि विभिन्न आपराधिक घटनामा संलग्न रहेको पाइएको छ । सीमावर्ती क्षेत्रमा बम विस्फोट देखि उद्योग व्यवसायीहरुलाई धम्काएर फिरौती उठाउने कार्यमा पनि उनिहरुको संलग्नता रहेको भेटिएको जिल्ला प्रहरी कार्यलय रौतहटका प्रमुख एसपी रजिराज खड्काले बताएका छन् ।
मंगलबार पनि चाँदअलीसहितको समुह रौतहटका एक ब्यापारीसँग फिरौती उठाउनका लागि आएको पाइएको छ । उनिसँगै आएका अन्य व्यक्ति भने भाग्न सफल भए । चाँदअलीको प्रारम्भिक अनुसन्धानपश्चात अन्य व्यक्तिहरुको खोजीकार्य पनि तीब्रताका साथ चलिरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले उक्त समुहबाट एउटा कटुवा पेस्तोल, एक राउण्ड गोली र खोका बरामद गरेको छ । अनुसन्धानबाट अझै धेरै कुरा खुल्ने एसपी खड्काले बताएका छन् ।