राष्ट्रिय टिममा बोलाइए सन्दीप, भोलि फिटनेश परीक्षण

दियो पोस्ट  

काठमाडौं । नाबालिक बलात्कारका अभियुक्त सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टिममा फिर्ता बोलाएको छ । निलम्बन फिर्ता लिएको दुई दिनपछि नै क्यानले लामिछानेलाई राष्ट्रिय टिममा फिर्ता बोलाएको हो ।

एक नाबालिकाले आफूलाई बलात्कार गरेको भन्दै प्रहरीमा दिएको जाहेरीका आधारमा गत २१ भदौमा अदालतले पक्राउ पुर्जी जारी गरेपछि क्यानले लामिछानेलाई निलम्बन गरेको थियो ।

जिल्ला अदालत काठमाडौंको आदेशमा पुर्पक्षका लागि थुनामा रहेका उनी २९ मंसिरमा उच्च अदालत पाटनबाट धरौटीमा रिहा भएपछि क्यानले फिर्ता बोलाउने बताउँदै आएको थियो । पोखरामा सम्पन्न क्यानको बोर्ड बैठकबाट लामिछानेको निलम्बन फिर्ता भएको थियो ।

निलम्बन फुकुवापछि क्यानले राष्ट्रिय टिममा फर्काउने अधिकार भने खेलाडी छनोट समितिलाई दिइएको थियो । प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरीले टिममा सन्दीपको आवश्यकता देखेर समावेश गरिएको जानकारी दिए ।