काठमाडौं । राजधानी पब्लिकेशनद्वारा सञ्चालित राजधानी दैनिकमा पत्रकार तथा कर्मचारीले ६ महिनादेखि तलब पाएका छैनन् । सेवा सुविधा र तलब पाउँन छोडेपछि त्यहाँका पत्रकार र कर्मचारी कार्यालय जाने हाजिर लगाउने र घाम तापेर फर्कन बाध्य भएका हुन् । सेवा सुविधाको माग राखी १५ जना पत्रकार तथा कर्मचारीको मुद्दा श्रम कार्यालय पुगेको छ । नेपाल पत्रकार महासंघ राजधानी दैनिक प्रतिष्ठान शाखाले त विज्ञप्ति नै निकालेर तलब नपाएको विषयमा विरोध गरेको छ ।
तलब, सञ्चय कोष, चाडपर्व खर्च, उपचार खर्च, उपदान लगायतको माग राखेर प्रेस रजिष्ट्रारमा निवदेन दिँदा मिलापत्र नभएपछि मुद्दा श्रम कार्यालयमा पुगेको हो ।
व्यवस्थापकले पत्रिका सञ्चालनको विषयमा चासो नदेखाएपछि अन्य पत्रकार तथा कर्मचारी पनि श्रम जाने तयारी गरेका छन् । पत्रिका बन्द हुने अवस्थामा आएको भन्दै उनीहरुले पनि आफ्नो सेवा सुविधा माग गर्न श्रम जाने बताउँन थालेका छन् ।
कार्यालयमा यहीँ २९ गते दुवै पक्षलाई छलफलमा बोलाएको छ ।
राजधानी चाँडै बन्द हुने अवस्थामा
विगत २१ वर्षदेखि सञ्चालन हुँदै आएको संस्था सञ्चालकहरुको आन्तरिक झगडाका कारण बन्द हुने अवस्थामा पुगेको छ । महेन्द्रको निधनपछि पाँच जना अंशियारहरु नै सञ्चालक समिति रहने र अध्यक्ष कान्छी श्रीमती नन्दा शेरचन र कार्यकारी अधिकृत छोरा आशिष शेरचन रहने गरी राजधानी प्रकाशन हुँदै आएको थियो ।
पारिवारिक अंशको द्वन्द्ध बढ्दै जाँदा सुरुमा प्रमुख कार्यकारी अधिकृतबाट आशिषले राजीनामा दिएका छन् । त्यसको केही समयपछि अध्यक्ष पदबाट नन्दा शेरचनले पनि राजीनामा दिएकी छन् । पत्रिकाको प्रिन्ट लाइनबाट नाम भने हटेको छैन ।
महेन्द्रका तीन छोरा मध्ये सचिन जेठा र आशिष कान्छा छोरा हुन् भने माइलो छोरा विदेशमा छन् । कान्छीबाट एक छोरी छन् । महेन्द्रले जिवित छँदा कमाएको सम्पत्तिको विषयमा कसले कति पाउने भन्नेमा विवाद हुँदा लामो समयदेखि कुनै पनि सञ्चालक राजधानीको कार्यालय गएका छैनन् । राजधानी प्रशासन स्रोतका अनुसार कोही सञ्चालक पुगि हालेमा हरहिसाब खोज्न मात्र पुग्ने गरेका छन् । अध्यक्ष नन्दा पत्रिका बन्द गर्ने र पब्लिकेशनको नाममा रहेको जग्गालगायतको सम्पत्ति बेचबिखन गरेर पत्रकार तथा कर्मचारीलाई सुविधा दिएर बिदाई गर्ने योजनामा छन् । तर, छोराहरु आशिष र सचिन भने पत्रिका बन्द नगर्ने र तलब पनि नदिई बसेका छन् । ‘उनीहरु आमा नन्दा शेरचन अध्यक्ष र सञ्चालकबाट हटिदिए हुन्थ्यो भनेर कुरेर बसेका छन् ।’ एक कर्मचारी भन्छन् । छोराहरु भने आमालाई पत्रिकाबाट हटाएर आफूहरु मात्र एकछत्र पत्रिका चलाउने ध्यानमा रहेका छन् । सोही कारण परिवारको अंशबण्डाको विवाद राजधानीभित्र पनि पसेको छ । अहिले राजधानी कसले कब्जा गर्ने भन्ने ध्यान देखिन थालेको छ ।
हाल बजारबाट उठेको पैसाबाट राजधानी प्रशासनले साल्ट ट्रेडिङबाट पेपर ल्याएर छपाईको काम हुँदै आएको छ । बजारबाट उठेको पैसाले पेपर किन्न हुने तर तलब नखुवाएको भनेर प्रशासन प्रमुख देव श्रेष्ठ र सम्पादक सागर पण्डितको राजधानीभित्र आलोचना पनि भइरहेको छ ।
आमा–छोराको आ–आफ्नै वकिल
अंशवण्डाको विवाद बढ्दै गएपछि महेन्द्र शेरचनका सम्पत्तिको खोजी गर्न र अंशबण्डाका लागि आमाले आफ्नै वकिल राखेकी छिन् ।
छोराहरुले पनि छुट्टै वकिल खडा गरेर कानुनी प्रक्रियाको कामको थालनी भएको पाइएको छ ।
कान्छी आमाले बुवाले कमाएको सम्पत्ति लुकाएको छोराहरुको आशंका छ । तर, कान्छी आमाले माइती पक्षको दाइजोको सम्पत्ति बाहेक अन्य सम्पत्ति नलुकाएको बताउने गरेको जनाइन्छ ।