ताप्लेजुङ । शिरिजंघा गाउँपालिका ताप्लेजुङ जिल्लाका ८ वटा पालिकामध्ये सुदूरपूर्वको पालिका हो । साविकका सिनाम, आम्वेगुदिन, सिकैचा, तेल्लोक, मामङखे, पेदाङ, खेवाङ र याम्फुदिन जोडेर अहिलेको शिरिजंगा गाउँपालिका बनाइएको हो।
यो पालिकाको पूर्वमा सिदिङमा गाउँपालिका र भारत रहेको छ भने पश्चिममा याङवरक गाउँपालिका र फुङलिङ नगरपालिका छ । उत्तरमा फक्तालुङ गाउँपालिका र दक्षिणमा पाँचथर जिल्ला छोएको छ । कुल क्षेत्रफल ४१८.०९ वर्ग किलोमिटर रहेको यस पालिकामा १५ हजार ८६ जनसंख्या छ ।

लिम्बू भाषा तथा लिपिका सर्जक भनेर चिनिने शिरिजंघा थेबेको नामबाट गाउँपालिकाको नामाकरण गरिएको हो। उनी ४ नम्बर वडामा जन्मिएका थिए। भौगोलिक अवस्था र विकासका पूर्वाधारका आधारमा पछि परे पनि शिरिजंघा प्राकृतिक सुनदरताले भरिपूर्ण छ। पर्यटनको प्रचुर सम्भावना छ तर प्रचार प्रसार नहुँदा ओझेलमा परेको छ।
सम्भावनाले भरिपूर्ण गाउँपालिकामा विकासको अवस्था के छ। त्यहाँका जनताले स्थानीय सरकारबाट कति लाभ लिएका छन् र त्यसको महशुस कसरी गरेका छन् ! दियोपोस्टको नियमित स्तम्भ ‘दियोपोस्टसँग स्थानीय सरकार’ मा आज हामी शिरिजंगालाई पढ्नेछौं। दियोपोस्टका ईश्वर विश्वकर्माले गाउँपालिकाका अध्यक्ष लाल कृष्ण चौहानसँग गरेको टेलिफोन संवाद ।

तपाईं गाउँपालिकाको अध्यक्ष निर्वाचित भएको दुई वर्ष पुग्न लाग्यो। पहिलो पटक के काम गर्नुभयो?
पहिलो कार्यकाल सुरु गरेको वर्ष १० बेडको अस्पताल निर्माण सम्पन्न गर्यौं। पालिकाबाट वडाहरुमा पुग्ने सडकका साथै विद्यालय स्तरोन्नति गर्यौं । सबै वडमा बर्थिङ सेन्टर निर्माण कार्य भइरहेका छन्। अब सडक कालोपत्रे गर्न कामलाई प्राथमिकता दिएका छौं।
स्थानीय तहको प्रमुखको हैसियतले विकास के रहेछ? दुई वर्षको अवधिमा के बुझ्नुभयो?
विकासको परिभाषा सवाल र क्षेत्रअनुसार फरक हुन्छ । शिक्षा, स्वास्थ्य, खानेपानी, सडक यी सबै आधारभूत विकासका क्षेत्रहरू हुन्। स्थानीय तहको विकास यिनै क्षेत्रमा जनताको पहुँच पुर्याउनु हो। हामीले स्वास्थ्य र शिक्षालाई विशेष ग्राह्यता दिएका छौं। माविमा पहिलो दोस्रो हुने विद्यार्थीलाई माथिल्लो तहको पढाइ निःशुल्क गरेका छौं।
छात्रवृत्ति ऐन लागु गरेर पढाएका विद्यार्थीले पढिसकेपछि न्यूनतम पारिश्रमिकमा काम गर्ने शर्त बनाएका छौं र त्यसरी पढ्नेहरूले शर्त पूरा पनि गरेका छन् । यो आर्थिक वर्षदेखि सबै वडामा एक/एक जना कृषि र पशु प्राविधिक ल्याउँदै छौं ।
पालिकाकै स्थानीबाट डाक्टर पढ्नेका लागि ऐन बनाएर एमबिबिएस पढाएका छौं। दुर्गम भएर डाक्टर आउन छाडेपछि पालिकाले आफ्नै खर्चमा डाक्टर पढाउन थालेका हौं। यो सुरू गरेको २ वर्ष भयो । डाक्टर भएपछि २ देखि ३ वर्ष पालिकाभित्रै सेवा गर्नुपर्ने कार्यविधि बनाएर त्यसमा लागिपरेका छौं ।

स्वास्थ्य शिक्षामा त्यहाँका जनताको जीवनस्तर कस्तो छ ?
शिक्षा र स्वास्थ्यमा धेरै लगानी गरेका छौं । ११, १२ कक्षाको विद्यार्थीलाई निःशुल्क पढाएका छौं । उत्कृष्ठलाई छात्रबृति कार्यक्रम शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेका छौं । पढाईलाइ राम्रो बनायौं भने बसाइँसराइ पनि रोकिन्छ भन्ने विश्वास छ। स्वास्थ्यतर्फ उपचारका लागि १० बेडको अस्पतालमा आँखा जाँचदेखि अपरेसनसम्म गर्ने व्यवस्था मिलाउदै छौं । यहाँका जनता टाढा नपरोस् भन्ने उद्धेश्य हो । गरिब, जेहेन्दार, गर्भवति, ज्येष्ठ नागरिकका लागि निःशुल्क उपचारको व्यवस्था गरेका छौं ।
डाक्टर पढ्न जानेलाई गाउँपालिकाले खर्च गरिदिने हो?
हाम्रो पालिकामा डाक्टर पढाइ हुने कलेज छैन। नेपाल भित्र जहाँसुकै जुन क्याम्पसमा पढेपनि त्यस्ता विद्यार्थीलाई आवास सहितको शिक्षाका लागि हामीले पढाउने निर्णय गरेका हौं ।

निर्णयमात्रै हो की त्यसरी पढेका पनि छन् ?
निर्णयमात्रै होइन ऐन बनाएर त्यहीअनुसार पढिरहेका पनि छन्। सिनामका एकजना विद्यार्थीले २ वर्ष भयो पढ्न थालेको । अरुलाई कसरी पढाउने भनेर गृहकार्य पनि गर्दैछौं। पालिकासँग बजेट छैन । यहीँभित्र उठ्ने राजस्वले पढाउने हो । हाम्रो पालिकामा वार्षिक ५० लाख सम्म राजस्व उठ्छ । फेरि कम भयो भनेर अनावश्यक र जनतालाई सास्ती हुनेगरी राजस्व उठाएका पनि छैनौं । जनसंख्या पनि कम भएका कारण राजस्व पनि कम नै उठ्छ। पर्यटनमा लगानी गरेका छौं तर राज्यले ध्यान दिएको छैन ।
चारवटा कुरामा राज्य गम्भीर भएर लागिदिएको भए अरु स्थानीय तह पनि मजबुद र आफ्नो देशपनि मजबुज हुने थियो । कृषिको कर्मचारी राख्नु भन्दा पनि कृषि उत्पादन गर्ने चिजहरु कति छन् त्यसलाई भण्डारण गरेर बजार बजार पुर्याउने, अनुदानमा गाडीहरु दिने र राज्यले बजारको व्यवस्थापन गर्ने भए उत्पादन गर्नेहरु ज्यादै खुसी हुने थिए । तर बजार नपाएपछि दुर्गम क्षेत्रको उत्पादनले मूल्य पाउँदैन। त्यसमाथि ढुवानी खर्च बढि हुन्छ। अब पालिकाले सबै जिम्मा लिगौं भने हामीसँग पनि प्रयाप्त बजेट छैन ।
स्थानीय तहले विकासको नाममा जथाभावि पर्यावरण ध्वस्त बनायो भन्छन नी ? तपाईंको पालिकाको अवस्था कस्तो छ ?
विकास गर्ने हो भने केही क्षति हुन्छ नै । क्षति नगरी सडक कसरी बनाउने ! सडकको पहुँच कम भएका ठाउँमा यस्तो भइहाल्छ । कतिपय ठाउँमा भर्खर हामीले सडक पुर्याएका छौं । गत साल बाढी पहिरोले पालिकाका गाउँहरु क्षतिग्रस्त भएका थिए। यसको कारक वनजंगल नाश भएर पनि हो। सडक बनाउँदा जंगल मास्यौं भने बाढी पहिरोको जोखिम हुन्छ भनेर जनताले पनि बुझेका छन्। त्यसकारण हामीले जंगलमा कमसेकम क्षति पुगोस् भन्ने ढंगले विकास निर्माणका काम अगाडि बढाएका छौं।

स्थानीय तहमा अनुशासन उल्लंघनका घटना पनि धेरै भए भनिन्छ नी!
अरु पालिकाका हकमा म जवाफदेखि हुन्नँ। मेरो गाउँपालिकामा जेरो बेरुजु भएको पालिका हो । उत्कृष्ठ पालिकामध्ये दोसोमा पनि परेको थियो । नयाँ कर्मचारी आउँदा यस्ता खालका काम भएर नकारात्मक असर पर्ने हो। हाम्रोमा सामान्य सैद्धान्तिक बेरुजु भएपनि ठूलो बेरुजु छैन र हुँदैन पनि।
जनताका लागि सेवा प्रवाह कसरी गरिरहनुभएको छ ?
गाउँपालिकाले एकद्वार सेवा भनेर योजना बनाएका छौं । प्रशासनिक भवनदेखि वडा कार्यलयसम्म सबै काम गरिसकेका छौं । प्रत्येक माध्यमिक विद्यालयमा विद्यार्थीलाइ निःशुल्क पढ्ने व्यवस्था मिलाएका छौं । कक्षा ५ सम्म उठाइने राजस्वलाई उहाँकै घरमा दिने व्यवस्था अनुसार विद्यार्थीलाई झोला अन्य सामाग्री दिने व्यवस्था मिलाएका छौं । गाउँपालिको कामलाई सूचनाको माध्यमबाट पनि स्थानीयहरुलाइ जानकारी गराइरहेका छौं ।

बेरोजगार युवाका लागि कस्ता योजना कार्यान्वयन गर्नुभएको छ?
प्रत्येक वडामा बेरोजगार युवालाई लक्षित गरी प्रधानमन्त्री स्वरोजगार कार्यक्रम चलाइएको छ। त्यसका लागि ६० देखि ७० लाख खर्चिएका छौं। बाटो बनाउनेदेखि कृषिसम्मका साना योजनामा अनुदान दिएका छौं। एउटा टोलमा कृषिका लागि १ लाख सम्म दिएका छौं । ठाउँ अनुकूल हेरी के उत्पादन हुन्छ हेरेर लगानी गरिदिन्छौं। सडकको दूरावस्थाका कारण कृषि उत्पादन बजारसम्म पुर्याउन मुस्किल हुने भएकाले कृषि व्यावसायिक भइसकेको छैन। यसले बेरोजगारी घटाउन पनि गाह्रो नै छ।
हाम्रोमा मात्रै होइन, नेपालका सबै स्थानीय तहमा यो समस्या छ । तर राज्यले पहाडी क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्छ। डाक्टरदेखि शिक्षकसम्मलाई गाउँमा सेवा गर्न जाउँ जाउँ हुने बनाउनुपर्छ।
बाढी पहिरोको रोकथाम कसरी गर्नु भएको छ ? फेरि वर्षाको समय आउँदै छ?
बाढीले एकदुई वटा वडालाई असर गरेको छ। त्यहाँ तटबन्धन नलगाइ हुँदैन। पालिकासँग बजेट छैन। संघीय सरकारले प्राथमिकतामै राख्दैन। हामीले सरकारलाई भनिरहेका छौं तर त्यसको सुनुवाइ भएको छैन। थुर्पु गणेशचोक तेल्लो गाउँपालिका केन्द्रसम्म आउने ३७ किलोमिटर सडक बाढी पहिरोले बाटोनै तहसनहस छ । यो बाटो बनाएन भने बजारमा चाउचाउसम्म नपाइने अवस्था आउँछ। हामीले यसलाई जसरी भएपनि बनाउने प्रयास गरिरहेका छौं। राज्यले गाउँपालिका जाने सडकमा लगानी नगरेर मन्त्रीलाई मन लागेको ठाउँमा बजेट हाल्छ। स्थानीय तहमा के छ, जनतामा कस्तो असर परेको छ त्यो ख्याल गरिँदैन।

अन्त्यमा तपाईंको पाँच वर्षे नेतृत्वले पालिकाका जनताले के पाउँछन् ?
सबै ठाउँमा विद्युत सेवा पुर्याएका छौं । पालिकालाई केन्द्रीय प्रसारणलाइनमा जोड्ने योजना छ । योभन्दा पहिला साना जलविद्युत आयोजनाबाट बत्ती बालेका थियौं। मुख्यतः प्रत्येक वडामा बर्थिङ सेन्टर सहितको अस्पताल निर्माण गरिसकेका छौं । १० बेडको अस्पताल बनाएका छौं । वर्षमा २ पटक शिविर सञ्चालन गर्छौं। सबै वडामा एम्बुलेन्स पुर्याउने काम भएको छ । विद्यालय मर्ज गर्ने योजना अघि बढाएका छौं। अबका पाँच वर्षमा पालिकाको मुहार फेरिनेछ। अहिलेभन्दा समृद्ध नै बन्छ। मेरो ल्याकतले भ्याएअनुसारको उत्कृष्ट बनाउनेगरी काम गर्नेछु।
टेलिफोन सम्वाद :