काठमाडौं । रामेछापका शंकर बर्देवालाई अहिले ज्यान जोगाएर हिड्न धौं–धौं भइरहेको छ । दिनदिनै ज्यान मार्नेसम्मको धम्की आउन थालेपछि आमाको मृत्युको वियोगमा मन खुलेर रुनसम्म पाएका छैनन् शंकर । आफूले गर्दै नगरेको गल्तिको सजाय भुक्तान गरेकोमा उनको मन खल्लो हुन्छ । दिनहुँ ‘तेरो छोराले यस्तो गर्यो,त्यस्तो गर्यो’ भन्दै मानसिक तनाव दिँदा आफ्नी आमाले आत्महत्या गरेको शंकर बताउछन् ।
योसँगै उनको जीवनमा ठूलो उथलपुथल भएको छ । उता गाउँमा आमाले आफ्नै हत्या गरिन् भने अहिले श्रीमतीसँगको सम्बन्ध पनि चिसिदै गएको छ । यो सबैको कारण हुन् गोरखा घर बताउने जेशन राई र विजय चौधरी नाम गरेका व्यक्ति । विगत १० वर्षदेखि वैदेशिक रोगारीका लागि दुबई पुगेका शंकरको गोरखा घर बताउने जेशन भाई अर्थात् जेशन राईसँग उनको भेट भयो । दुबईमा पुगेका भिनाजुका लागि काम खोजिदिन सहयोग गरेका जेशनले शंकरलाई यसरी फसाउलान् भन्ने पटकै लागेको थिएन । अप्ठ्यारोमा परेका भिनाजुलाई काममा लगाइदिएपछि जेशन अब दुबईमा शंकरका एक विश्वाशिला साथी भए ।
कसरी फसे शंकर ?
नेपालको ठेगाना सोध्दा गोरखा घर बताउने जेशनले नेपालबाट आउनेका लागि आफूसँग सेक्युरेटीका लागि काम भएको शंकरलाई बताए । त्यसपछि उनले नेपालमा कोही छ आउने भनेर नातागोताका मान्छेलाई फोन गरे र पछि शंकरकै काकाको व्यवसायीमा काम गरिरहेका व्यक्तिहरु विदेश जान भनेपछि उनका काकाले ति व्यक्तिसहित १५ जनालाई शंकरसँग सम्पर्क गराए । वैदेशिक रोजगारी कागजी प्रक्रिया सबै जेशनले नै गरेका थिए । प्रतिव्यक्ति १ लाख ५० हजार खर्चमा छोटो समयमा भिषा पनि आयो ।
टिकट बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल पुगेका उनीहरु चेकजाँचको क्रममा मात्रै नक्कली टिकट भएको चाल पाए । यो क्रम रोकिएन ३ पटकसम्म यो घटना दोहोरिरहयो । त्यसपछि हो शंकरले आफू फसेका थाहा पाएको । जेशनले शंकरलाई विभिन्न बैंक खाता पठाएर उक्त खातामा ति १५ जनाबाट १ लाख ५० हजारका दरले रकम जम्मा गर्न लगाएका थिए ।
तिन–तिन पटक नक्कली टिकट पठाएका जेशन अब शंकरको सम्पर्कमा पनि आउन छाडे। सम्पर्कमा आइहाले पनि उक्त आफू ठगीएकोबारे कुरा गर्दा जेशन पन्छिन थालेकाे शंकर बताउछन् । ‘तेस्रो टिकट पनि नक्कली पठाएपछि मैले उही (दुबई)मा खोज्न थालेँ । जेशन भन्ने मान्छेलाई खोज्न मात्रै मैले त्यो बेला १५०० दिराम सकाएको छु,’ उनी भन्छन् । यता उनीमार्फत वैदेशिक रोजगारीमा जान लागेका ती युवाहरुले ठगीएको र अब आफूहरुले ऋण खोजेर बुझाएको रकम फिर्ता गरिदिन भन्दै शंकरलाई बारम्बार फोन गर्न थाले । तर उनीहरुले दिएको उक्त रकम आफ्नो खातामा नआएको शंकरको भनाई छ ।
उता जेशनको खोजीमा शंकर यता आमाले गरिन् आत्महत्या
उता दुबईमा आफूले गर्दै नगरेको कामको भुक्तान गर्न थालेका शंकरले जेशनको खोजीमा थोर–धेरै कमाएको रकम पनि सक्काउदै थिए भने, यता यही कारण आमाले आत्महत्या गरिन् । ती युवाहरुसँग भने सम्पर्क गरिरहेका थिए । उनीहरुको रकम फिर्ता हुने आश्वासन दिदै दुबईमा जेशनको खोजीमा लागिरहेका थिए । ऋण गरेर रोजगारीमा जान बाध्य ती युवाहरु आफू पनि पीडित भएपछि शंकर र उनको परिवारलाई खोज्न थाले । अब दुबई नगए पनि आफ्नो रकम फिर्ता गरिदिन बारम्बार आग्रह गर्दै आए । तर उनीहरुको रकम फिर्ता गरिदिन शंकरसँग प्रयाप्त रकम नै थिएन ।
त्यसपछि ति युवाहरुले शंकरलगायत परिवारका सदस्यलाई फोन गरेर रकम माग गर्न थाले । रामेछापको गाउँमा बस्ने आमालाई बारम्बार फोन धम्कीसहित मानसिक तनाव दिन थालेपछि आमाले आत्महत्या गरेको शंकर बताउछन् । १५ जनाको १ लाख ५० हजारका दरले जम्मा २२ लाख रकम फिर्ता दिनु पर्ने थियो । उनीहरुको उक्त रकमबाट ५५ हजार भने आफ्नो खातामा आएको शंकर स्विर्काछन् । पछि आमाले आत्महत्या गरेपछि नेपाल फर्किएपछि आफ्नो खातामा आएको ५५ हजार रकम उनीहरुलाई नै फिर्ता दिएको शंकरको दाबी छ ।
“जेशनको माध्यमबाट काम गर्दा मैले आज हरेक चिज गुमाउनु परेका छ । विश्वासमा पर्दा जीवन नै डामाडोल भयो । यहाँ जति पनि पीडित छन् । उनीहरु सबैले मेरो आमालाई फोन गरेर थर्काउन थालेछन् । आमालाई टचर दिन थालेछन्,” उनले भने,“ यी पीडितहरुले तेरो छोराले यस्तो गर्यो उस्तो गर्यो भन्दै तनाव दिएपछि त्यो सहन नसकेर आमाले आत्महत्या नै गर्नु भयो । ढाई महिना अघि मात्रै आमाले मुसाको औषधी खाएर आत्महत्या गर्नु भयो । आमाको ज्यान त गयो गयो अहिले मलाई आफ्नो ज्यान जोगाउन पनि गाह्रो भइरहेको छ । ”
आमाले आफूमाथिको व्यर्थको आरोप सहन नसक्दा उनले आत्महत्या गरेको उनले बताए । उनकी आमाको मृत्यु भएको करिब ३ महिना मात्रै भयो । आमाको मृत्यु भएको १३ दिनपछि उनलाई बाध्य बनाएर ति पीडितहरुको रकम फिर्ता गर्नुपर्ने भनै कागज बनाईएको छ । “आमाको मृत्युको १३ दिनपछि त्यहाँको वडा कार्यालयमा गएर यति पैसा यो दिनमा तिरिसक्नु पर्छ भनेर कागज बनाएको छ । त्यो दिनभित्रमा मैले तिर्न पनि सकेको छैन । तर म सबै पीडितहरुको सम्पर्कमा छु । तर केही गर्न सकेको छैन । ” अहिले शंकर एक्ला भएका छन् परिवार नै विग्रदै गएको दुःख उनी सुनाउछन् ।
उनले यही कारणले जीवनभर साथ दिने बाचा गरेकी श्रीमतीले पनि अहिले साथ छाडेको बताए । “मलाई आएका धाक–धम्कीले जुन पैसा मैले लिएकै छैन मैले सम्पर्क मात्रै गरेको हुँ जेशनले मालाई नराम्ररी फसायो । अहिले मलाई मेरो श्रीमतीले समेत घरबाट निकालिदिइन् । यस्तो काम किन गरेको भन्दै छोडेर गइन् । मैले अहिलेसम्म यस्तो काम गरेको थिएन यो पहिलो पटक थियो अब कहिले गर्ने पनि छैन ।” उनी पछुताउदै भने,“अहिले मलाई आफ्नो ज्यान समेत जोगाउन गाह्रो भएको छ । सिधै काट्छु मार्छु भन्दै धम्की आउँछ । जेशनकै कारण मेरो आमाको ज्यान त गयो श्रीमती मबाट टाढा भइन् मसँग भएको हरेक चिज गुम्दै गए ।”
१५ जनाको १ लाख ५० हजारका दरले २२ लाख ५० हजार रकम विभिन्न माध्यमबाट ठगी भएको शंकर स्विकार छन् । तर त्यो रकम आफूहरुले नलिएको उनको दाबी छ । आफ्नो खातामा आएको ५५ हजार रकम उनले स्वदेश आउने बित्तिकै उनीहरुलाई नै फिर्ता गरेको उनको भनाई छ ।
अहिले पनि ती पीडितहरुको बारम्बार फोन आउँछ एक–दुई पटक पीडितसहित प्रहरी प्रशासनमा पनि गएर कुराकानी भएको उनले बताए । जेशनबाट ऋण तिरेर रोजगारीका लागि विदेश जान तयार भएका पीडितसहित आफू पनि पीडित भएको उनको भनाई छ ।
सम्बन्धित समाचार
भिजिट भिषामा ठगीको नयाँ शैली : दुबईमा नक्कली भिषा र टिकट भिराएर लाखौँ ठगी गर्ने जेशन !