नेपाली कांग्रेस महासमिति बैठकमा महामन्त्री गगन थापाले पेस गर्ने सांगठनिक प्रतिवेदनलाई अन्तिम रूप दिन ‘सकस’ परेको छ । महामन्त्री थापाले महासमितिमा लैजाने प्रतिवेदन यसअघि सुझावका लागि केन्द्रीय समिति बैठकमा पेस गरेका थिए । जसमा आगामी चुनावअघि गठबन्धन गर्न नहुने उल्लेख छ । तर उक्त विषयप्रति सभापति देउवाले आपत्ति जनाउदै आएका छन् ।
अहिले देउवा र थापा आ–आफ्नै अडानमा छन् । कांग्रेसको सोमबारदेखि सुरु हुने महासमिति बैठकमा प्रस्तुत हुने भनिएको यो प्रतिवेदनमाथि सभापति देउवाको असन्तुष्टि कायमै छ। दुई नेताबीच सोमबार बिहान देउवा निवास बुढानीलकण्ठमा भएको छलफलमा दुवै नेताले आ–आफ्नो अडान कायमै राख्दा निष्कर्षविहीन भएको छ ।
थापाको प्रतिवेदनमा रहेको कांग्रेसले भविष्यमा चुनावी गठबन्धन नगर्ने विषयलाई सभापति देउवाले रुचाएका छैनन्। उनले सो लगायत अन्य केही विषयलाई हटाएर प्रतिवेदनलाई अन्तिम रुप दिन थापालाई आग्रह गरिरहेका छन्।
देउवा र थापाबीचको असन्तुष्टिकै कारण थापाको प्रतिवेदन छापिन पाएको छैन।
थापा पक्षले कांग्रेसप्रति आस्थावान मतदातालाई रुखमै भोट हाल्न पाउने अवस्था सिर्जना गर्ने प्रस्तावको रुपमा गठबन्धनको विषयलाई व्याख्या गरेको छ। संस्थापन पक्षले भने अहिले गठबन्धनका दलहरूबीच रहेको विश्वासको वातावरण बिगार्ने प्रस्तावको रुपमा अर्थ्याएको छ।