काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जाल विधेयकप्रति असहमति जनाउँदै ‘मलाई बोल्न दे, सरकार, अपराध हैन’ भन्ने आफ्नो पुरानो गीतको भिडिओ शेयर गरेका छन् । उनले विधेयकको विरोध गर्दै गीतमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
सामाजिक सञ्जालमा अहिले चर्काे रूपमा ‘बोल्न दे सरकार’ नामक ह्यासट्याग ‘ट्रेन्ड’ चलाइएको छ। यसै सन्दर्भमा बालेनले आफ्नो पाँच वर्षअघि सार्वजनिक गीत ‘बलिदान’ को केही अंश सञ्जालमा पोष्ट गर्दै उक्त अभियानलाई समर्थन जनाएका छन्।
सरकारले गत माघ १५ गते ‘सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ राष्ट्रिय सभामा दर्ता गराएको थियो। साेही क्रममा बिना टिप्पणी भिडियाे शेयर गरेका बालेनको गीतमा ‘मलाई बोल्न दे, सरकार, अपराध हैन ,कानुन पो लाग्छ कि ? आवाज उठाउँदैमा” भन्ने पङ्ति छ, जुन अहिलेको अवस्थामा पनि सान्दर्भिक रहेको छ ।
सामाजिक सञ्जाल नियमन आवश्यक भए पनि, वर्तमान विधेयकको अस्पष्टता र कठोर प्रावधानले अभिव्यक्ति स्वतन्त्रतालाई सङ्कुचित पार्ने देखिन्छ। यही कारण आम नागरिक, पत्रकार, राजनीतिक दल र अधिकारकर्मीहरूले यसको विरोध जनाइरहेका छन्। यसै सन्दर्भमा काठमाडौं महानगर मेयर बालेन शाहले पनि साङ्गीतिक अभिव्यक्तिमार्फत विरोध जनाएका छन्।