‘कास्ट कन्भर्सेसन’: जात व्यवस्थाका विविध आयाममा युवा पुस्ताको बहस

दियोपोस्ट संवाददाता  

काठमाडौं । दलित लाइभ्स म्याटरले निर्माण गरेको टेलिभिजन कार्यक्रम ‘कास्ट कन्भर्सेसन’ बिहीबारदेखि हिमालयन टेलिभिजनमा प्रसारण हुने भएको छ । जातको आधारमा हुने हिंसा, विभेद र बहिष्करण अन्त्य गर्ने उद्देश्यले यो कार्यक्रम निर्माण गरिएको हो ।

आयोजकका अनुसार कार्यक्रममा जात व्यवस्थाका विविध आयामबारे युवा पुस्तासँग छलफल गरिनेछ । त्यस्तै, उनीहरूका अनुभवबाट सिकेर जातीय विभाजन, विभेद र बहिष्करण अन्त्यका लागि नयाँ विचारहरू पहिल्याउने प्रयास गरिनेछ।

दलित लाइभ्स म्याटरका संस्थापक तथा अध्यक्ष प्रदीप परियारका अनुसार कार्यक्रमको पहिलो श्रृंखलामा सातै प्रदेशका विभिन्न समुदाय, लिङ्ग, भाषा, आस्था र शारीरिक अवस्थाका युवाहरूको सहभागिता रहनेछ । जम्मा १२ भागको यो श्रृंखला शान्ता नेपालीले निर्देशन गरेकी हुन् भने यसलाई वृद्धिका सेञ्च्युरीले सञ्चालन गरेकी हुन् । प्रत्येक अंकमा ७ जना सहभागी छन् ।

दलित लाइभ्स म्याटरका अनुसार जात व्यवस्था नेपाली समाज र समग्र मानव सभ्यताको विकासमा बाधक बनेको छ । विज्ञप्तिमा भनिएको छ, ‘विभेदकारी जात व्यवस्थाले दलित र सीमान्तकृत समुदायलाई आर्थिक, राजनीतिक र सामाजिक रूपमा पछाडि पारेको छ । जात व्यवस्था, यसका आयाम र प्रभावबारे सिर्जनशील प्रश्न र समाधानमुखी संवादको खाँचो छ।’ संस्थाले दलित र सीमान्तकृत समुदायविरुद्ध निरन्तर अमानवीय शोषण र हिंसा भइरहेको, संरचनात्मक विभेद र बहिष्करण अझै जारी रहेको बताएको छ ।

कार्यक्रमले जातसँग लैङ्गिकता, प्रेम र विवाह, जमिनको स्वामित्व, कला र साहित्य, प्रविधि, न्याय र शिक्षालगायत विविध विषय कसरी जोडिएका छन् भन्ने प्रष्ट पार्ने विश्वास गरिएको छ ।

दलित लाइभ्स म्याटर २०७७ जेठ १० गते अन्तरजातीय विवाहको प्रयासमा रूकुम पश्चिममा भएको नवराज विक र उनका पाँच जना साथीहरूको हत्याको पृष्ठभूमिमा स्थापना भएको अभियान हो ।